हरिप्रसाद कोइराला
तराईका जिल्लालाई जोड्ने हुलाकी राजमार्ग बनेपछि कोशी प्रदेशको विराटनगरबाट जाने दुरी छोट्टिएको छ ।मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्ज गाउँपालिका जोड्ने रतुवा खोलामा पुल निर्माण भएपछि महेन्द्र राजमार्गको बैकल्पिक सडकका रुपमा यो सडक प्रयोग हुन थालेको छ । सडक र विद्युत विकासको पहिलो आधार स्तम्भ हुन् । रतुवामाई नगरपालिकाको वडा नंं १ साविकको वरडङ्गाका वासिन्दा दुई दशक अघिसम्म घण्टै लगाएर रङ्गेली र विराटनगर पुग्थे । वरडङ्गाका मात्र होइन । साविकका महादेवा, झुर्किया,सिंजुवा गाविसका बासिन्दालाई रङ्गेली र विराटनगर पुग्न भन्दा भारतको फुलवडिया बजार नजिक हुन्थ्यो ।
अहिले हुलाकी सडकले तराई –मधेशका वासिन्दाको दैनिकी बदलिएको छ । २०८१ सालको माघ २५ गते रतुवाखोलाको पुल सञ्चालनमा आएपछि हिउँदमा भाटे पुल र वर्षायाममा डुङ्गामा पैसा तिरेर आवात जावत गर्नुपर्ने समस्या स्थायी रुपमा समाधान भएको छ । दुबै तर्फको पुललाई जोड्ने पहुँच मार्ग बनेको छैन । तर,विराटनगरबाट गौरीगञ्जसम्म सडक यातायात सुरु भएको छ । कोशी प्रदेशका दुई वटा जिल्ला झापा र मोरङमा दुईवटा एयरपोर्ट छन् । विराटनगरबाट सिंधा भद्रपुर पुग्न हाल चलनमा रहेको सडक भन्दा यो सडक २४ किलोमिटरले कमी छ ।
एकातिर स्थानीय सरकार गठन भएपछि गाउँगाउँमा सडक सञ्जाल विस्तार भएको छ । अर्कोतिर ति सडकसँग हुलाकी सडकको पहुँच जोडिएपछि दक्षिणी मोरङ र झापा पनि बसोवासका लागि उपयुक्त क्षेत्र बनेको छ । पहिले सुनसान देखिने हुलाकी सडक किनारमा बाक्लो बस्ती विकास भएको छ । सडक सञ्जालसँगै यातायात समेत विस्तार भएपछि भारतसँगको ब्यापार मात्र होइन । उत्तरी झापा र मोरङसँगको ब्यापार पनि फष्टाएको छ । भारत देखिका ब्यापारीहरू वयल गाडामा उत्तरी मोरङका केरावारी, लेटाङ र मधुमल्ला बजार भर्न हप्तौं लगाएर आउने गर्थे ।त्यस्तै उत्तरी झापाका शनिश्चरे,बुधबारे बजार पनि भारतीय ब्यापारीहरूको उल्लेख्य भीड हुन्थ्यो ।
झापाको शनिश्चरे र बुधबारे बजारसँग विर्तामोड हुँदै भद्रपुरमा हुलाकी सडक जोडिएपछि ब्यापारका नयाँ सम्भावनाहरू सुरु भएका छन् । यता मोरङमा पनि पूर्व पश्चिम राजमार्ग भन्दा उत्तरको मधुमल्ला बजारसँग उर्लाबारी–आमबारी सडक जोडिएको छ । आमवारी बजार हुलाकी राजमार्गको मोरङमा पर्ने दक्षिण पूर्वको प्रमुख बजार हो । यस्तै लेटाङ– कानेपाखेरी रङ्गेली सडकले पनि हुलाकी सडकसँग नयाँ सम्बन्ध स्थापित गरेको छ । कानेपोखरी–रङ्गेली सडक हुलाकी सडक पार गर्दै भारतीय सीमावर्ती बजार चोर्पाहासम्म पुगेको छ ।
मोरङको लेटाङसँग मात्र होइन । जाँतेसँग पथरी हुँदै डाइनियाबाट भारतको सिक्टी पुग्ने सडकले पनि मोरङको लेटाङ,पथरीशनिश्चरे, सुनवर्षी र रङ्गेली नगरपालिकाका वासिन्दाका दुखका दिन सकिएका छन् । यो सडक पनि पूर्वपश्चिम राजमार्ग भन्दा १५ किलोमिटर उत्तर देखि हुलाकी सडकलाई पारगर्दै दक्षिण तर्फ ५ किलोमिटर पुगेर भारतीय बजारसँग जोडिएको छ ।
हुलाकी राजमार्ग कार्यालयका सूचना अधिकारी उपेन्द्र दासका अनुसार बिराटनगर देखि भद्रपुरसम्मको ९४ किलोमिटर लम्बाईको यस सडकमा अझै चार वटा पुल निर्माण गर्न बाँकी छन । जसमध्ये तीन वटा पुल अस्थायी रुपमा सञ्चालन भइसकेका छन् । कन्काई पुल अझै अधुरो छ । पुल बाहेक झापा खण्डमा कालोपत्रेको काम सकिएको छ । मोरङको चेका पुलदेखि सिंघिया खोलासम्मको १३ किलोमिटर सडक लामो समय रोकिएर पुल निर्माण सुरु भएको छ । कोशी प्रदेशका तराईका जिल्ला जोड्ने हुलाकी सडक छोटो मात्र छैन । जङ्गली जनावर र सवारी साधनको चाप पनि कमि छ । एकातिर सडक विस्तारले मानिसहरूलाई कृषि र पशुपालनमा सहज बनाएको छ भने अर्को तर्फ कृषि र पशुपालनमा लागत खर्च पनि घटेको छ । सडक बनेसँगै गाउँगाउँमा विद्युतीय सवारी साधनको पहुँच विस्तार भएको छ । सडक किनारमा कृषि उपजको ब्यापार गर्ने,दुग्ध ब्यवावसाय गर्ने किसानको सङ्ख्या बढेको छ । विगतमा अन्न उत्पादन गरेर पनि बिक्री गर्न कि रङ्गेली कि विराटनगर पु¥याउनु प¥थ्यो । सडक थिएन । बयल गाडीमा हालेर रङ्गेली पु¥याउन चार पाँच दिन लाग्थ्यो । अहिले हुलाकी सडकसँगै विस्तार भएको सडक सञ्जालले किसानको दुख अन्त्य भएको छ । मकै, गहुँ, धान र सनपाटको ब्यापक खेती हुन थालेको छ । जसले किसानलाई आर्थिक रुपमा समृद्ध बनाउँदै लगेको छ ।
हुलाकी सडकले ब्युतिएको रङ्गेली
कुनै समय रङ्गेली मोरङ जिल्लाको सदरमुकाम थियो । रङ्गेलीबाट सदरमुकाम सरेपछि रङ्गेली रङ्ग बिहीन भएको थियो । सरकारी अड्डा मात्र होइन । ठूला ब्यापारीले पनि मरेको पशुलाई किर्नाले छोडे झैं रङ्गेलीलाई छोडे । रङ्गेलीलाई जिवित राखिरहेको एकमात्र जिल्ला अस्पतालले जसोतसो रङ्गेलीको इमान जोगाएको थियो ।
विराटनगरबाट रङ्गेली हुँदै भद्रपुरलाई जोड्ने हुलाकी राजमार्ग र कानेपोखरीबाट रङ्गेली हुँदै भारतको चोप्राहा जोड्ने हुलाकी सडक बनेपछि रङ्गेलीमा रङ भरिदै गएको छ । अझ रङ्गेली नगरपालिकाले दिलिपकुमार अग्रवाल नगर प्रमुख पाएपछि रङ्गेलीले नयाँ जीवन पाएको छ । अहिले रङ्गेली अस्पताल नगरपालिकाले नै सञ्चालन गरिरहेको छ । भारत देखिका विरामी रङ्गेलीमा उपचार गर्न आउन थालेका छन् । शताब्दि पुराना मन्दिरहरू, गौशाला र सरकारी कार्यालयहरू धमाधम फर्किएपछि रङ्गेलीबाट बसाई सरेर जाने क्रम पनि घट्दो दरमा छ । रङ्गेली मात्र होइन । हुलाकी सडकले डाइनियाँ र आमवारी बजार पनि अहिले उज्यालिएका छन् । उता झापाका गौरीगञ्ज,झापा बजारले पनि मुहार फेरेका छन् । खेती बिक्री गर्दै दमक र विर्तामोड वा पूर्वपश्चिम राजमार्ग किनारमा बसाई सर्नेहरू अहिले पछुताउन थालेका छन् । सडक र विद्युतसँगै स्वास्थ्य र शिक्षा पनि यसरी नै सबैको पहुँचमा पुग्ने हो भने बसाई सराईको क्रम आधा घट्ने निश्चित छ ।






