काठमाडौँ । मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले इजरायल, अमेरिका र इरानबिचको तनावले उडानहरू अनियमित हुँदा शव ल्याउन कठिनाइ भएको जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शव नेपाल ल्याउन बाँकी छ । विभिन्न समयमा मृत्यु भएका ती नेपालीको शव स्वदेश ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको र प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो ।
मध्यपूर्वको हालको द्वन्द्वमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । असहज परिस्थितिमा रहेका नेपालीको विवरण सङ्कलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको सङ्ख्या क्रमशः घट्दै गएको छ । यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ । कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारी समेत मन्त्रालयले दिएको छ । 






