Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार – गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्र गर्न ठेक्का लागेको ६ वर्ष हुन लाग्यो । सम्झौता अनुसार यो सडक निर्माण कम्पनीले २०७९ सालको कात्तिक २३ गते हुलाकी सडक निर्देशनालय इटहरीलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर,६ वर्ष बितिसक्दा पनि हालसम्म सडक निर्माणको ४५ प्रतिशत मात्र भौतिक र ३७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सन प्रालिले झण्डै पाँच वर्षसम्म लथालिङ्ग पारेर छोडेको सडक स्थानीयको दबाबपछि गतवर्ष बाट पुनः निर्माण सुरु भएको हो । निर्माण कम्पनीले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईले बताउनु भयो । तर, विद्युतको पोल स्थान्तरणमा समस्या भएकोले सडकको आधा भाग मात्र कालोपत्रे भइरहेको छ भने आधाभाग पूर्व अवस्था मै रहेको छ । एकातिर कालोपत्रे गरेको भाग ६ इञ्च अग्लो र अर्को तर्फ होचो हुँदा साना सवारी चालक मारमा परेका छन् ।
पुर्व पश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली – भद्रपुर सडकलाई जोड्ने यो सडक सङ्घीय सरकारको हुलाकी राजमार्ग निर्देशनालय,योजना कार्यालय इटहरी मार्फत २०७६ कात्तिक २४ गते ठेक्का सम्झौता भएको हो । निर्देशनालयको योजना कार्यालय इटहरीका सुचना अधिकृत ईन्जिनीयर उपेन्द्र दासका अनुसार सडक दुई प्याकेजमा ठेक्का लागेको हो । पहिलो प्याकेजमा पथरी–डाँसखोला खण्डको १५ किलोमिटर सडक ७७ करोड ९ लाख ७०८ रुपियाँ ५२ पैसामा ठेक्का लागेको हो । यस्तै डाँसखोला देखि भारतको बोर्डरसम्म १४ दशमलव ७९७ किलोमिटर ८० करोड ४५ लाख ९१ हजार १९५ रुपियाँ ३१ पैसामा ठेक्का लागेको हो । दुबै प्याकेजको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएको सुचना अधिकृत दासले बताउनु भयो । उसबेला सडकलाई जिल्ला कै नमुना सडकका रुपमा निर्माण गरिने बताइएको थियो ।दुबै तर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे ।
सुचना अधिकारी ईन्जिनीयर उपेन्द्र दासले भन्नुभयो –दोस्रो प्याकेजमा अझ कम काम भएको छ । उहाँका अनुसार दोस्रो प्याकेजमा ३५ प्रतिशत भौतिक र २५ प्रतिशत वित्तीय प्रगति भएको छ । खासगरी विद्युतका पोलहरू सार्न बजेट अपुग भएकोले विद्युत पोल नभएका दिशा तर्फ कालोपत्रे गरिएको र पोल भएको स्थानमा कालोपत्रे नगरिएको हो ।
सुचना अधिकारी दासले भन्नुभयो –३ वर्ष अर्थात २०७९ सालको कात्तिक २३ गते सम्पन्न गर्नुपर्ने काम तोकिएको समयमा नसकिएपछि २०८२ असार १६ गतेसम्मका लागि म्याद थप भएको थियो । हाल तेस्रो पटक म्याद थपको प्रक्रिया सुरु भएको उहाँले जानकारी दिनुभयो । पहिलो प्याकेजमा एकतर्फि पाँच किलोमिटर कालोपत्रे भएको छ । तर, दोस्रो प्याकेजमा कतिपय स्थानमा साइट नै खालि भएको छैन । सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र बर्षायाममा हिलो खेप्नु स्थानीयका लागि सामान्य झैंँ भएको छ । लगातार धर्ना,सडक मै पत्रकार सम्मेलन गरी सडक अबरुद्ध गरेपछि बल्ल काममा फर्किएको निर्माण कम्पनीको काम गराई अझै पनि सुस्त रहेको सडक उपभोक्ता तेजिन्द्र पाण्डेले बताउनु भयो ।
कान्छाराम कन्ट्रक्सनका निर्देशक दीपक थिङ र इन्जिनीयर विमलेश यादवलाई पटक पटक पाmेन सम्पर्क गर्दा पनि उहाँहरूले फोन उठाउनु भएन ।
यो सडकले मोरङका पथरीशनिश्चरे,सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी बजारसँग सम्पर्क स्थापित गर्छ । पूर्व पश्चिम राजमार्गसँग पथरीमा र विराटनगर–रङ्गेली– गौरीगञ्ज हुँदै भद्रपुर जोड्ने हुलाकी सडकलाई रङ्गेलीमा क्रस गर्ने यो सडकको कुल लम्बाई झण्डै ३० किलोमिटर रहेको छ ।निर्माणधीन पथरी– जाँते–ज्यामिरे सडक निर्माण सम्पन्न भएपछि यो सडकले उत्तरी मोरङको उत्पादन भारतसम्म पु¥याउन सहज हुने बताइएको छ ।



Share via
Send this to a friend