काठमाडौं ।प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माले स्वास्थ्य क्षेत्रको संकटप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै उहाँले आन्दोलनरत चिकित्सक र विद्यार्थीहरूको मागप्रति सरकार उदासीन र गैरजिम्मेवार देखिएको आरोप लगाउनुभयो।
“आज नेपालभर ओपीडी सेवा ठप्प छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरू कालोपट्टी बाँधेर सडकमा उत्रिन बाध्य भएका छन्,” उहाँले भन्नुभयो, “यो सामान्य अवस्था होइन, अत्यन्त चिन्ताजनक र विडम्बनापूर्ण स्थिति हो।”
डा. शर्माले सरकारले लिएको नीति र कानुनी संरचनालाई ‘लज्जास्पद’, ‘दुःखद’ र ‘गैरवैज्ञानिक’ भन्दै गम्भीर प्रश्न उठाउनुभयो।
विशेषतः नेपाल मेडिकल काउन्सिलबाट उपचार अधिकार पाएका चिकित्सकहरूको मूल्याङ्कन उद्योग मन्त्रालयअन्तर्गतको गैरचिकित्सकीय निकायले गर्ने व्यवस्थाप्रति उहाँले तीव्र असहमति जनाउनुभयो।

























