Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । ‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ भन्ने नेपाली उखान यसपटक ठूला राजनीतिक दलका शीर्ष नेताको सन्दर्भमा कमजोर सावित हुँदै गएको छ। दशकौँदेखि राजनीतिमा खारिएका नेताहरूलाई मतदाताले सहजै पत्याइहाल्ने अवस्था देखिँदैन।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलले नयाँ–पुराना सबै शीर्ष नेतालाई जनतामाझ प्रत्यक्ष पुगेर विश्वास जित्नुपर्ने कडा कसीमा उभ्याएको छ।

झापामा ओली–बालेन प्रतिस्पर्धा

केपी शर्मा ओली पूर्वी नेपालको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ। विगतका निर्वाचनमा दमक केन्द्रित प्रचार गर्ने ओली यसपटक घरदैलो अभियानमा सक्रिय देखिनुहुन्छ। उहाँको प्रतिस्पर्धीका रूपमा बालेन्द्र शाह मैदानमा उत्रिनुभएपछि युवा तथा परम्परागत मतदाताको झुकाव आफ्नो पक्षमा पार्न ओलीलाई थप मेहनत गर्नुपरेको स्थानीयको भनाइ छ।

विगतमा ठूलो मतान्तरले विजयी हुँदै आउनुभएका ओली यसपटक पनि एमालेको करिब २६ हजार मत आधार बलियो रहेको दाबी गरिन्छ। तर नयाँ मतदाताको रुझान र अन्य दलबाट मत कटौतीको सम्भावनाले प्रतिस्पर्धा रोचक बनेको छ। उक्त क्षेत्रमा १ लाख ६३ हजार ३८९ मतदाता छन्। नेपाली कांग्रेसकी मन्दरा चिमरिया, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद सङ्ग्रौलासहित ३९ जना उम्मेदवार मैदानमा छन्।

सर्लाहीमा गगनको परीक्षा

गगन थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा सक्रिय हुनुहुन्छ। मधेशी मतदाता बहुल क्षेत्रमा पहाडी मूलका ठूला नेताको उम्मेदवारीले मतदाता दोधारमा छन्। उहाँलाई टक्कर दिन अमरेशकुमार सिंह पनि मैदानमा हुनुहुन्छ।

स्थानीय विश्लेषणअनुसार मधेशी दल, कांग्रेस र एमालेबीचको परम्परागत मत बाँडफाँट यसपटक परिवर्तन हुनसक्ने देखिएको छ। १ लाख २१ हजार १२ मतदाता रहेको उक्त क्षेत्रमा ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

रौतहटमा नेपाललाई चुनौती

माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ। विगतमा सोही क्षेत्रबाट बारम्बार विजयी हुनुभएका नेपाल यसपटक नयाँ र पुराना दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धामा हुनुहुन्छ। परिवर्तन चाहने युवा मतदाता र विभाजित राजनीतिक समीकरणले उहाँलाई सहज अवस्था दिएको छैन।

चितवनमा रविको रस्साकस्सी

रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्छ। अघिल्लो निर्वाचनमा उच्च मतान्तरले विजयी हुनुभएका लामिछानेलाई यसपटक नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको स्थानीय प्रभावले चुनौती थपिएको छ। १ लाख ३२ हजार १५२ मतदाता रहेको क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ।

रुकुमपूर्वमा प्रचण्डको मेहनत

पुष्पकमल दाहाल रुकुमपूर्वबाट उम्मेदवार हुनुहुन्छ। चितवनबाट दुई पटक विजयी भई प्रधानमन्त्रीसमेत बन्नुभएका दाहाल यसपटक आन्तरिक असन्तुष्टि र विद्रोही उम्मेदवारका कारण दबाबमा हुनुहुन्छ। स्थानीय विश्लेषणअनुसार करिब १७ हजार मत खस्ने अनुमानबीच थोरै मतान्तरको प्रतिस्पर्धा हुने देखिन्छ। निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा ३४ हजार मतदाता छन्।

‘डिजिटल सुशासन’को अभाव

राजनीतिक विश्लेषक ईश्वरीप्रसाद खनालका अनुसार पुरातन सोच र डिजिटल सुशासनप्रति उदासीनताले शीर्ष नेताहरू जनताको कठघरामा उभिएका हुन्। उहाँको भनाइमा, विश्व प्रवृत्तिअनुसार नेपालमा कम्तीमा ६० प्रतिशत शासन प्रणाली डिजिटल हुनुपर्ने हो। त्यसो भए भ्रष्टाचार र कमिसनखोरी उल्लेख्य रूपमा घट्ने थियो।

खनालका अनुसार विचारधारामा अडिग नरहने र बारम्बार दल तथा चुनाव चिह्न परिवर्तन गर्ने प्रवृत्तिले पनि राजनीतिक विश्वसनीयताको जग कमजोर बनेको छ। यही कारण मतदाता यसपटक नेताहरूलाई कडा प्रश्न गर्दै मूल्याङ्कनको कसीमा राखिरहेका छन्।

समग्रमा, फागुन २१ को निर्वाचनले ठूला नेताहरूलाई पनि जनताको प्रत्यक्ष परीक्षा दिन बाध्य बनाएको देखिन्छ। यसपटक मतदाताको निर्णयले पुरानो शक्ति संरचनामा परिवर्तन ल्याउने संकेत धेरै क्षेत्रमा देखिएको छ।



Share via