Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । नेपाली काङ्ग्रेस र नेकपा एमालेले आलोपालो जित्दै आएको मोरङको निर्वाचन क्षेत्र नं.१ मा नयाँ राजनीतिक दलको ‘इन्ट्रि’ले नयाँ र पुराना दल बिच रोचक भीडन्त हुने भएको छ ।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र्र बिच गठबन्धन थियो । प्रदेशसभाका दुबै निर्वाचन क्षेत्र गुमाएको गठबन्धनले प्रतिनिधिसभामा भने झिनो मतान्तरले काङ्ग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बुलाई संसद प्रवेश गराएको थियो । लिम्बूले एमालेका घनश्याम खतिवडालाई ४३० मतले हराउनु भएको थियो । यद्यपि मोरङ १ मा समानुपातिक मत काङ्ग्रेसको भन्दा एमालेको झण्डै १० हजारले बढी थियो । २०७४ मा काङ्ग्रेसका लिम्बू नै एमालेका घनश्याम खतिवडा सँगै हार्नु भएको थियो । २०७४ माओवादी र एमाले बिच गठबन्धन थियो । विगतको मत विश्लेषण गर्ने हो भने जसले माओवादीको मत पायो उसैले चुनाबमा जित हासिल गरेको देखिन्छ ।
स्थानीय तहमा पनि काङ्ग्रेस एमालेले आलोपालो चुनाब जितेका छन् । २०७४ मा चार पालिका मध्ये तीनमा काङ्ग्रेसले प्रमुख तथा अध्यक्ष जितेको थियो भने एमालेले एक गाउँपालिकामा जित निकालेको थियो । २०७९ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले जितेका उर्लाबारी,लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमालेले नतिजा उल्टायो भने एमालेले जितेको मिक्लाजुङ गाउँपालिकामा काङ्ग्रेसले नतिजा उल्टायो ।
चार पालिकाका ३७ वडा रहेको यस निर्वाचन क्षेत्रमा २०७९ को स्थानीय चुनाबमा एमालेले २१ वडामा ,काङ्ग्रेसले १३ वडामा र तत्कालिन माओवादी केन्द्रले तीन वडामा चुनाव जितेका थिए । वडाध्यक्षले पाएको मत हेर्ने हो काङ्ग्रेस र एमाले बिच ठूलो मतान्तर देखिदैन । काङ्ग्रेसका वडाध्यक्षले ३१ हजार ४१३ मत पाएका थिए भने एमालेका वडाध्यक्षले ३३ हजार २५ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस भित्र गुटगत बिवाद चरमोत्कर्षमा थियो भने एमाले भित्र एउटा वडामा मात्रै बिवाद थियो । तीन वडा जितेको माओवादी केन्द्रले ३७ वडाबाट ६ हजार ६६६ मत पाएको थियो ।
तर, अहिले परिस्थिति बदलिएको छ । काङ्ग्रेस एमाले आफ्ना परम्परागत मत जोगाउन सक्रिय छन् भने नयाँ दल रास्वपा र श्रम संस्कृति पार्टी आक्रमक ढङ्गले प्रचारमा जुटेका छन् ।
नेपाली काङ्ग्रेसले कोशी प्रदेश सहमहामन्त्री खड्गबहादुर फागोलाई उमेद्वार बनाएको छ । २०७४ मा उर्लाबारी नगरपालिकाको नगर प्रमुख विजयी हुनु भएका फागो २०७४ मा नगर प्रमुखमा पराजित हुनुभयो ।हाल पार्टीलाई एक ढिक्का बनाएर अघि बढेको बताउँदै फागोले आफ्नो प्रतिस्पर्धा मोरङ १ का समस्यासँग रहेको बताउनु भयो । थुप्रै नीतिगत सुधारको आवश्यक छ । बजेट भएर मात्र विकास हुन्न । कडा कानून पनि चाहियो । कार्यान्वयन तह फितलो छ , अबको हाम्रो एजेण्डा सुशासनका लागि नीतिगत सुधार हो । उहाँले ठेक्का लागेका योजनाहरू बिच मै छोडेर भाग्ने निर्माण कम्पनीलाई कार्यवाही नहुने,ठेकदारले प्रशासन सञ्चालन गर्ने जस्ता वेथिति अन्त्य नै आफ्नो एजेण्डा भएको बताउनु भयो ।
एमाले उमेद्वार घनश्याम खतिवडाले यो पटक एमालेले आफ्नो पुरानो विरासद फर्काउने दावी गर्नुभयो ।उहाँले भन्नुभयो – तत्कालिन लेटाङ गाविसको अध्यक्ष भए देखि नागरिक सँग जोडिएको हुँ । सांसद हुँदा होस वा नहुँदा मैले मोरङ १ को विकासमा निरन्तर काम गरेको छु । पार्टीको मजवुद संगठन एमालेले विस्तार गरेको सडक सञ्जाल, विद्युतीकरण र खानेपानी विस्तार नै चुनाव जित्ने प्रमुख आधार हुन्,खतिवडाले भन्नुभयो । एमालेको कोशी प्रदेश अध्यक्ष समेत रहनु भएका खतिवडाले सरकारी संरचना जलाउने र बनाउने बिचको लडाईँ भएकोले बनाउने पक्षलाई मतदाताले जिताउने उल्लेख गर्नुभयो ।
नेकपाबाट पूर्व प्रदेस सभा सदस्य कुलप्रसाद साम्वालाई उमेद्वार हुनुहुन्छ । सांसद बन्दा गाउँ गाउँमा विकास बजेट ल्याएर सडक ,विजुली ,खानेपानी र स्वास्थ्यको पहुँच विस्तार गरेको र सोही कामलाई निरन्तरता दिने उहाँको भनाई छ । उहाँले प्रदेश र संघबाट झण्डै चार अर्ब बजेट ल्याएर नदी तटबन्ध, ट्रमा सेन्टर स्तरोन्नति,विद्यालय,क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तरमा ठोस काम गरेकोले मतदाताले आफूलाई रोज्ने बताउनु भयो । रास्वपाले यज्ञमणि न्यौपानेलाई उमेद्वार बनाएको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने तयारीमा रहनु भएका न्यौपाने बालेन्द्र साहको झापा ५ मा इन्ट्री भएपछि छिमेकी मोरङ १ मा आउनु भएको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उमेद्वार नदेखिदा पनि रास्वपाले प्रत्यक्षमा ८ हजार ६३ र समानुपातिकमा नौ हजार ७७४ मत पाएको थियो ।उमेद्वार न्यौपानेले भन्नुभयो –‘म बाहिरबाट आएको उमेद्वार होइन । झापा ५ र मोरङ १ बारिपारी हो । मोरङ १ का मतदाताको माग भएपछि आएको उहाँले बताउनु भयो । कानून पृष्ठभुमिका न्यौपानेले लहर मात्रै नभएर सुशासन र भ्रष्टाचार अन्त्यका लागि मतदाताले नयाँलाई अवसर दिने दाबी गर्नुभयो ।
श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन,लामा उमेद्वार हुनुहुन्छ । नेकपा एमाले, नेकपा एस हुँदै श्रम संस्कृति पार्टीमा लाग्नु भएकी लामा स्थानीय स्तरमा लोकप्रिय मानिनु हुन्छ । गत स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एसबाट लेटाङ नगरपालिकाको उप प्रमुखको उमेद्वार बन्नु भएकी लामाले एक हजार ६६७ मत प्राप्त गर्नु भएको थियो । सामूदायिक वन,महिला सशक्तिकरण र महिलाका अधिकार स्थापना गर्न बहस पैरवी गर्दै आउनु भएकी पाख्रिनले मोरङ १ को भूगोलले आफूलाई चिनेको र मतदाताले जिताउने बताउनु भयो ।
तर,स्वतन्त्र विश्लेषकहरु नयाँ दललाई जित्ने गरी मत नपुग्ने बताउछन् । काङ्ग्रेस ,एमाले मध्ये जुन दललाई कम क्षति हुन्छ । उही दलले थोरै मतान्तरले चुनाव जित्ने विश्लेषकहरूको भनाई छ ।
मोरङको झण्डै आधा भूगोल समेटिएको मोरङ १ मा दुई नगरपालिका लेटाङ,उर्लाबारी र दुई गाउँपालिका केरावारी र मिक्लाजुङ पर्छन् । एक लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ १ मा पाँच स्वतन्त्र सहित १८ जना उमेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ ।



Share via
Send this to a friend