कानेपोखरी । नेपालमा पहिलो पटक बयरको ब्यावसायिक खेती सुरु गर्नु भएका विनोद अग्रवालले मोरङको कानेपोखरी– ३ हरकपुरमा अम्बाको ब्यावसायिक खेती सुरु गर्नु भएको छ ।
बयर, अम्वाको नेपालमा ब्यावसायिक उत्पादन नहुने तर भारत लगायत देशबाट उच्च आयात हुने अध्ययन गरेपछि अग्रवालले बयरपछि अम्बाको खेती सुरु गर्नु भएको हो । अग्रवालले आफ्नै १२ कट्ठा जग्गामा तीनसय अम्बाका बिरुवा लगाउनु भएको छ । भारतको कलकत्ताबाट बिरुवा ल्याएर १८ महिना रोप्नु भएका अम्बाका बिरुवाले अहिले धमाधम फल दिन थालेका छन् । रोपाईमा तीन लाख खर्च गरिसक्नु भएका अग्रवालले थप १५ प्रजातिका विभिन्न फलफूलका बिरुवा लगाउनु भएको छ । दुई वटाले एक किलो पुग्ने यो अम्बा नेपाली बजारमा औषत दुई सय रुपियाँ किलो बिक्री हुने गर्छ । स्थानीय जातको अम्बाले बजार पाउँदैन । तर,ताइवानी,सफेदा जातको अम्बाको माग उच्च छ ।
अग्रवालको बारीमा अहिले तीन सय ग्राम सम्मका अम्बा फलिरहेका छन् । हेर्दा भारतबाट आयातित जति राम्रो देखिदैन । तर, खाँदा मीठो छ । अम्बा र बयरबारीको संरक्षण गरेर बसिरहनु भएका स्थानीय रघु टुडुले भन्नुभयो –बिना अध्ययन गरेको खेतीले खासै सन्तोषजनक उत्पादन दिइरहेको छैन् । खोलाधारको माटोमा मेहनत गरेर किसानले आफै गर्ने हो भने घाटा नहुने देखियो ।
जग्गाधनी अग्रवालका अनुसार गत वर्ष ८० हजारको बयर बिक्री भएको थियो । यो वर्ष १ लाख ६० हजारसम्मको बिक्री हुने देखिन्छ । तर, टाढा बसेर दुई जना कामदारलाई रोजगार समेत दिँदा फाइदा नभएको अग्रवालले बताउनु भयो । घडेरीसँगै रहेका जग्गामा खेती गर्ने हो भने बयर खेतीबाट कमाउन सकिने अग्रवालको बुझाई छ । बयरमा मात्र होइन । अम्बाको अवस्था पनि उस्तै छ । एकै पटक फल निस्कन्छ । भण्डारणको प्रबन्ध छैन् । सानो बजारमा खपत हुन्न । आफ्नै यातायातको साधनमा गाउँमा डुलाएर बिक्री गर्ने हो भने पनि खपत बढाउन सकिने रहेछ । उहाँले आफूलाई फाइदा नभएपनि बयर र अम्बा खेतीबाट आर्थिक लाभ लिन भने सकिने बताउनु भयो । उहाँले भन्नुभयो – मैले परीक्षणको रुपमा खेती गरेको हुँ । बजार, भण्डारण र खेतीका बारेमा अध्ययन गरेर मात्र खेती गर्नुपर्ने रहेछ ।
आयात हुने फलफुलको हिस्सामा दुई प्रतिशत मात्र घटाउन सके पनि ठूलो उपलब्धि हुने रहेछ । त्यसैले अझ बढी अध्ययन गरेर ब्यवस्थित खेती गर्ने अग्रवालको भनाई छ ।
अम्बा खेतीको बिच बिचको खालि जमीनमा तोरी खेती गर्नु भएका अग्रवालले बहुबालि लगाएकोले घाटा नै ब्योहोर्नु भने परेको छैन ।






