कानेपोखरी । संविधान दिवसका अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न परिवारका लागि तयार गरिएका २० वटा घरमा गृह प्रवेश कार्यक्रम गरेको छ ।
२ नं. वडा स्थित प्रधानटोलमा गाउँपालिका कै जग्गामा निर्माण भएका घरको मोरङ –२ का प्रतिनिधिसभा सदस्य एवम् संसदमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । विपन्नका लागि निर्माण गरिएका घरको उद्घाटन गर्दै पोख्रेलले सरकारको विपन्न लक्षित कार्यक्रम अनुसार नै घरहरू निर्माण गरिएको बताउनु भयो । उहाँले भन्नुभयो –‘सरकार जनता आवास कार्यक्रम मार्फत घर बिहीनका लागि घरको प्रबन्धमा जुटेको छ । यो कार्यक्रमलाई तिनै तहका सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ । सभापति पोख्रेलले कानेपोखरीले यस अघि पनि अति विपन्न ५० परिवारलाई सुरक्षित आवासमा सारेको बताउँदै अब हरेक वर्ष घरको छनो चुहिने समस्या अन्त्य भएको उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामले सडक कालोपत्रे, पुल निर्माण र ठूला ठूला भवन निर्माणलाई मात्र विकास देख्ने हामीलाई बानि परेको बताउँदै घर नभएका ब्यक्तिका लागि कालोपत्रे सडक काम नदिने उल्लेख गर्नुभयो । मानव संसाधन र सुरक्षित आवासका क्षेत्रमा गाउँपालिकाले विशेष महत्व दिएको बताउँदै अध्यक्ष इङ्नामले भन्नुभयो –‘ विपन्नले सुरक्षित घरमा बस्न पाए भने उनीहरूले आफ्नो कमाई खाद्यान्न, शिक्षा र स्वास्थ्यमा लगाउन पाउने छन् । ’ विगतको अनुभव सुनाउँदै उहाँले गाउँपालिकामा हरेक दिन घर भत्क्यो , सहयोग पाउँ भन्दै निवेदन आउँथे । विपन्न घर एकतिर टाल्यो, अर्कोतिर भत्किने समस्या सथयो । त्यसैले हामीले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्ने अभियान चलाएका हौं ।
कानेपोखरी गाउँपालिकाले सुरक्षित आवास कार्यक्रमका लागि गत वर्ष ५० करोड रुपियाँ विनियोजन गरेको थियो । चालु वर्ष पालिकाले १ करोड र प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । अति विपन्न ऋषिदेव,सन्थाल, झाँगड समूदायका मानिसलाई नयाँ घरमा सारिने कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङले बताउनु भयो ।
सोही अवसरमा गाउँपालिकाले पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा राजकुमार राई,सूर्यबहादुर धिमाल,वीरबहादुर भट्टराई,छत्रबहादुर भण्डारी र पूर्णबहादुर अधिकारी हुनुहुन्छ । गाउँपालिकाले यस अघि सोही स्थानमा १४ वटा घर विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको छ ।
गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधि छत्रबहादुर निरौला, माओवादी केन्द्रका गाउँ अध्यक्ष भोजवीर माझीले बोल्नु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सञ्चालन गर्नु भएको कार्यक्रममा गाउँ प्रवक्ता सुशील बुढाथोकीले स्वागत भाषण गर्नु भएको थियो ।

























