रतुवामाइ । झापा र मोरङको तराई क्षेत्रमा बसोवास गर्ने राजवंशी ,ताजपुरिया र गनगाईहरूको सबैभन्दा ठूलो सिरुवा पावनी घर आँगनमा आएको छ ।
सिरुवा पावनी(पर्व) राजवंशी,ताजपुरिया जातिको सबैभन्दा ठूलो पर्व मानिन्छ । नयाँ वर्ष बैशाख १ गते मोरङको रतुवामाई नगरपालिका वडा नं.५ स्थित सुनवर्षी महाराजथानमा पूजा गरेपछि यो पर्व सुरु हुने गरेको छ । पर्व १५ दिनसम्म लगातार मनाइन्छ । भूमि पूजामा विश्वास गर्ने यो जाति वर्षभरी अन्न राम्रो फलोस । बाढी, रोग,पशुचौपायले दुख नदियोस भन्ने कामना गर्दै सुनवर्षी महाराजको पूजा गर्ने गर्छन् । धान,तोरी, तेहलन, दलहन र गहुँ बालि भित्र्याएपछि उनीहरू बैशाख १ गते देखि १५ गतेसम्म विभिन्न भेटघाट,भोज खाने, खुवाउने गरेर सिरुवा मनाउने गर्छन ।राजवंशी भाषामा सनवरसी भनेको सुनको वर्षा भन्ने बुझिन्छ । पछि पहाडे समूदायको बसोवास बढ्दै गएपछि यो थानको नाम नै अपभ्रंस भएर सुनवर्षी थान भएको स्थानीय राजवंशी समूदायका अगुवाहरू बताउनु हुन्छ ।
सुनवर्षी महाराज देवस्थल संरक्षण समितिका सचिव शिवदियाल राजवंशीका अनुसार महाराजथानको बिचमा महाभारतकालमा पाण्डवहरूले खनेको विश्वास गरिएको ठूलो पोखरी छ । त्यो पोखरी वरिपरि मानव बस्ती र खेतीपाती छ । तर,सदियौं भयो त्यो पोखरी आजको मितिसम्म सुकेको छैन् ।दुई बिघा क्षेत्रमा फैलिएको पोखरीको पश्चिम उत्तरमा मन्दिर छ । आदिकालमा सनवरसी महाराजले विपन्न, दुखी र भोका नाङ्गालाई सहयोग गर्नुहुन्थ्यो । राजवंशीले आफ्ना बाजेहरूले सुनाएको किम्वदन्ती उल्लेख गर्दै भन्नुभयो –‘गरिवहरूले बिहेमा लगाउने गहना नहुँदा महाराजसँग पुकार गर्थे अरे । आँखा चिम्लेर ध्यान गर्दै बसेका भक्तहरूलाई महाराज खुसी भएपछि सुनका गहना बर्साईदिनु हुन्थ्यो । ति गहना प्रयोग गरिसकेपछि महाराजको मन्दिरमा नै चढाउनु प¥थ्यो । जसले लोभ लालच गरेर घरमा राख्थे । उनीहरूको परिवारमा महाअनिष्ट हुन्थ्यो । ’ त्यहाँ नजिकैको किच्चक वस्ती गहना प्रयोग गरेर नबुझाएकै कारण मासिएको स्थानीयले अझै पनि सुनाउँछन् ।
पछिल्लो समय यो थानमा राजवंशी, ताजपुरिया, धिमाल, गनगाई र सन्थाल समुदायका मानिसहरू मात्र होइन । पहाडे समुदायले पनि नयाँ अन्न चढाएर मात्र खाने परम्परा सुरु भएको छ । पूर्वी नेपालको मोरङ, झापा, सुनसरी मात्र नभएर भारतको बिहार र पश्चिम बंगालका भक्तजन समेत अचेल फूलघोडा चढाउन र परेवा उडाउन महाराजथान पुग्ने गरेका छन् । सुनवर्षी महाराज देवस्थल संरक्षण समितिका अध्यक्ष एवम् सुनवर्षी नगरपालिका वडा नं.३ का वडाध्यक्ष अतनकुमार बुढाथोकीले भन्नुभयो – भागल गर्दा जस जसको भागल पुरा भएको छ ति सबै भक्तहरूले यहाँ आएर फूल घोडा चढाउने र परेवा उडाउने गर्नुहुन्छ ।
राजवंशी,ताजपुरिया,गनगाई मात्र मात्र होइन । पहाडे समूदायमा पनि सनवरसी महाराज प्रतिकोे आस्था बढ्दै गएको छ । मोरङको रतुवामाई –९ का ३० वर्षीय विक्रम पौडेलले भन्नुभयो –‘ नयाँ योजनाको भाकलका लागि महाराजथानको पूजा गर्न जाने तयारीमा छु । ’ धेरै साथीभाइको भाकल पुरा भएको सुनेपछि पौडेल यो पटक भाकल गर्न जाने तयारीमा हुनुहुन्छ ।
दक्षिण तराईमा गाडीघोडा र यातायातको पहुँच नभएको बेला भारतीय ब्यापारीहरू यिनै मेलामा ल्याएर मट्टीतेल,नून,कपडा र मिठाई बिक्री गर्ने गर्थे । किसानले मेला कै बेला खेतीपातीका लागि आवश्यक पूर्वाधारहरू जोड्थे । एकातिर पूजाआजा र रमाइलो गर्ने अर्को तर्फ ब्यापारसँग जोडिएका यि मेला पछिल्लो समय जुवाजन्य खेल र मदिरा सेवनका कारण ओझेलमा पर्दै गएका छन् ।

























