पथरीशनिश्चरे । पूर्व युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले १६ करोड रुपियाँ विनियोजन गरेको बताउनु भएको छ ।
मोरङको पथरीशनिश्चरे १ मा पथरी –११ फुटबल क्लवको कार्यालय उद्घाटनका अवसरमा शनिवार यस्तो बताउनु भएको हो । उहाँले आफू मन्त्री भएको बेला राष्ट्रिय गौरवको योजनाका रुपमा क्रिकेट रङ्गशालालाई निर्माण गर्ने कार्यक्रम अघि बढाइएको बताउनु भयो । दुनियाका ठूला र शक्तिशाली राष्ट्रलाई हराउन सक्ने माध्यम भनेको खेलकुद मात्र भएकोले राज्यका तीनै तहले खेलकुदमा लगानी वृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । लिम्बुले नेपाललाई खेलकुदका माध्यमबाट अन्तराष्ट्रिय मञ्चमा चिनाउन सकिने सम्भावना रहेको बताउँदै खेलाडीलाई प्रोत्साहन गर्न तिनै तहका सरकारले स्पष्ट कानून बनाउनु पर्नेमा जोड दिनुभयो ।
पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले कुनै पनि क्लब संस्थागत भएर सञ्चालन हुनु नगरका लागि गौरवको विषय भएको बताउनु भयो । नगरपालिकाले फुटबलसँगै अरु खेलको विकासमा पनि सहयोग गर्नुपर्ने बताउँदै फुलबल खेल दुनियाको सबैभन्दा लोकप्रिय खेल भएकोले यसको विकास र खेलाडीको क्षमता वृद्धिका लागि नगरले बढी नै लगानी गरिरहेको बताउनु भयो । उहाँले गाउँ ,नगर भनेको खेलाडी जन्माउने ठाउँ भएको बताउँदै उहाँले खेल्न ईच्छुक खेलाडीलाई अवसर दिने,प्रशिक्षणको ब्यवस्था गर्ने जिम्मेवारी नगरले लिने उल्लेख गर्नुभयो ।
क्लबका अध्यक्ष सुमन विकको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरी ११ फुटबल क्लबका फुटबल प्रशिक्षक अर्जुन बस्नेतले स्वागत भाषण गर्नुभएको थियो । क्लबले एक वर्षको बिचमा देशका विभिन्न स्थानमा भएका गोल्डकपमा सहभागि भएर पाँच वटा उपाधि जितिसकेको छ ।

























