Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
उर्लाबारी । सामुदायिक विकास मञ्चले संविधान दिवसको अवसरमा मोरङको उर्लाबारीमा उर्लाबारी रनको आठौं संस्करण आयोजना गर्ने भएको छ ।
आयोजक संस्थाले उर्लाबारी नगरपालिका वडा नं. ६ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै संविधान दिवसको दिन पारेर असोज ३ गते कार्यक्रम गर्ने जानकारी दिएको हो । प्रतियोगितामा नेपाल र भारतका २ सय भन्दा बढी धावकहरूले प्रतिस्पर्धा गर्ने आयोजक सामुदायिक विकास मञ्च उर्लाबारीले जनाएको छ ।
विभिन्न उमेर समूहमा हुने प्रतियोगितामा १२ वर्ष मुनि, १६ वर्ष मुनि, १६ देखि ४० र ४० वर्ष माथि उमेर (भेट्रान) गरी चार समूहलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने मञ्चका अध्यक्ष प्रेम वोहोराले जानकारी दिनुभयो । भेट्रान बाहेक प्रत्येक उमेर समूहमा महिला र पुरुषको छुट्टाछुट्टै दौड हुनेछ । १६ देखि ४० उमेर समूहका महिला तथा पुरुष प्रतिस्पर्धा मध्ये पहिलो हुनेलाई ३१÷३१ हजार, दोस्रो हुनेलाई १६÷१६ हजार र तेस्रो हुनेलाई ११÷११ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
भेट्रान तर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ । १६ वर्ष मुनीका महिला तथा पुरुष प्रतिस्पर्धामध्ये प्रथम हुनेलाई ७÷७ हजार, द्वितिय हुनेलाई ५÷५ हजार र तृतीय हुनेलाई ३÷३ हजार पुरस्कार प्रदान गरिनेछ । १२ वर्ष मुनि उमेरका भने उर्लाबारी नगर क्षेत्रमा वसोवास गरेको हुनुपर्ने र यो उमेर समूहका प्रथम हुनेलाई ५÷५ हजार, द्वितिय हुनेलाई ३÷३ हजार र तृतीय हुनेलाई १÷१ हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक ध्रुबचन्द्र पराजुलीले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । गतवर्ष सम्पन्न सातौं संस्करणमा भारतको सिक्किमका पुरन राई १० किलोमिटर दुरी ३१ मिनेट ५४ सेकेण्डमा पार गरी पहिलो हुनु भएको थियो ।



Share via
Send this to a friend