काठमाडौं ।नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुनीलकुमार शर्माले समाजसेवी महावीर पुनविरुद्ध फैलाइएको “विदेशमा छोरीलाई १ करोड खर्च गरेर पढाइएको” भन्ने हल्लालाई खारेज गर्दै सार्वजनिक रूपमा त्यसको भण्डाफोर गर्नुभएको छ।
डा. शर्माले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लामो स्टाटस लेख्दै यो हल्ला झुट्टा, तथ्यविहीन र चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाउनुभयो। “यो हल्ला निश्चय नै बदनियतपूर्ण हो,” उहाँले लेख्नुभयो, “सामाजिक योगदानमा समर्पित, निस्वार्थ भावनाबाट काम गर्ने व्यक्तिलाई यसरी आरोप लगाउनु केवल आपराधिक सोचको उपज हो ।
डा. शर्माका अनुसार उहाँले व्यक्तिगत रूपमा महावीर पुनसँग भेट गरेर छोरीको पढाइबारे छलफल गर्नुभएको थियो। त्यो भेट राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुरमा भएको हो, जहाँ उहाँले पुन सरको कार्यशैली, दृष्टिकोण र जीवनदर्शनबाट गहिरो प्रभाव पाएको उल्लेख गर्नुभयो।छोरीको चिकित्सा शिक्षा सम्बन्धी परामर्शको क्रममा डा. शर्माले नै पहल गर्दै काठमाडौं मेडिकल कलेज (KMC) वा नोवेल मेडिकल कलेजमा पूर्ण छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोग समक्ष सिफारिस गर्नुभएको थियो।
“त्यो प्रयास सफल हुन सकेन, म पनि निराश भएँ,” उहाँले लेख्नुभयो। त्यसपछि विदेशमा पढाइको विकल्पबारे छलफल भएको हो।“मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ। सुरुमा पुन सरले अलिक अनाकानी गर्नुभएको थियो,” डा. शर्माले उल्लेख गर्नुभयो। “मैले भनेँ, पैसाको समस्या भए हामी सहयोग गर्छौँ। डा. गोविन्द केसी सरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल, डेन्टल सिटहरू काटिएका छन्, करिब २०० नर्सिङ कलेज बन्द भएका छन्। यसले तपाईंजस्ता हजारौँ नेपाली अभिभावकलाई असर पारेको छ।”
नेपालमा चिकित्सा शिक्षाको अवसर सिमित भएकाले अन्ततः विदेश पठाउने निर्णयमा सहमति भएको डा. शर्माले स्पष्ट पार्नुभयो। उहाँले महावीर पुनलाई व्यक्तिगत रूपमा सहयोग गर्न चाहनुभएको तर उहाँले नम्रतापूर्वक अस्वीकार गर्नुभएको पनि उल्लेख गर्नुभयो।
छोरीको भर्ना प्रक्रिया बंगलादेशको जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भएको र सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले, न्यूनतम खर्चमा सम्पन्न भएको शर्माको दाबी छ।“जम्मा खर्च ४१ हजार अमेरिकी डलर हो भन्ने पुष्टि भएको छ, त्यो पनि किस्ताबन्दीमै भुक्तानी हुँदै आएको छ,” उहाँले स्पष्ट पार्नुभयो।
“कुनै कन्सल्टेन्सी शुल्क लिइएन, डा. नरेन्द्र मिश्रजस्ता साथीहरू मार्फत सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भयो,” डा. शर्माले लेख्नुभयो।उहाँले महावीर पुनलाई ‘देशका सम्पत्ति समान’ व्यक्तित्व ठहर गर्दै यस्तो व्यक्तिमाथि आरोप लगाउनु राष्ट्रिय सम्पत्तिमाथिको आघात भएको बताउनुभयो। डा. शर्माले महावीर पुनको इमानदारीको एउटा प्रसंग पनि स्मरण गर्नुभयो।
“हामीले उहाँको आत्मवृत्तान्त पुस्तक किन्यौँ। फिर्ता दिने पैसा उहाँसँग तत्काल थिएन। हामीले ‘फिर्ता नचाहिने’ भने पनि उहाँले खोजेर फिर्ता गर्नुभयो,” उहाँले लेख्नुभयो, “यस्तो इमानदार व्यक्तिमाथि यस्तो हल्ला कतिसम्म गैरजिम्मेवार हो, कल्पना गर्न सकिन्छ।” शर्माले देशका जिम्मेवार नागरिकलाई आव्हान गर्दै भन्नुभयो ,”हामी समाज र देशको लागि उठ्नु पर्छ, एकजुट हुनु पर्छ। निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यको आधारमा मात्रै बोलाैं ।


























