धनपालथान(मोरङ) । उखु खेतीमा लगातार घाटा ब्योहोर्नु परेपछि तरकारीको ब्यावसायिक खेती सुरु गर्नु भएका मोरङको धनपालथान गाउँपालिका वडा नंं ६ का रञ्जित गुप्ताले ५ वर्षमा उखु खेतीको सबै ऋण तिरिसक्नु भएको छ ।
उहाँले उखु खेती मासेर चार बिघा १५ कट्ठामा तरकारी लगाउनु भएको छ । सबै जग्गामा बन्दाकोपी लगाउनु भएका ३८ वर्षीय गुप्ताले भन्नुभयो–‘सरदर प्रतिकिलो आठ रुपियाँमा बिक्री भयो भने तीन लाख रुपियाँ बचत हुन्छ । तीन महिनामा तरकारी निस्किन्छ । झण्डै एक महिना लगातार बिक्री गर्न सकिन्छ ।’ गुप्ताका अनुसार सुरुमा आठ÷दश रुपियाँ किलो बिक्री भएको बन्दाकोपीले चैत पहिलो साता राम्रो मुल्य पाउँछ । ग्रिनस्टोन,ग्रिन एक्सप्रेस र एनएस ४३ जातको कोपाी लगाउनु भएका गुप्ताले यो सिजनमा तरकारी बालि लगाउन दुई लाख रुपियाँ खर्च गरिसक्नु भएको छ । रोपाई, गोडमेल,सिंचाइ र बजार पठाउने बेलासम्ममा उहाँले दैनिक १४ जनालाई रोजगार दिनुहुन्छ । गुप्ताले थप्नुभयो –‘उखुमा धेरै घाटा भयो । समयमा पैसा नपाउने । ऋण गरेर उखु लगायो । ब्याज र किस्ता तिरिसक्दा पनि उखुको पैसा मिलले नदिने । उखु खेतीमा कृषि मजुदर पनि महँगा छन् । त्यसैले उखु खेती मासेर तरकारी लगाएको हुँ ।
गुप्ताले पौन पाँच बिघा जग्गाको वार्षिक दुई लाख रुपियाँ भाडा तिर्नुपर्छ । गत वर्ष वडा कार्यालयले वोरिङ,मोटरपम्प र सिंचाईको मोटर जडान गर्न सहयोग गरेपछि गुप्ताको लागत खर्च अझ घटेको छ । उहाँ तरकारी झिकेपछि सनपाट र सनपाट भित्राएपछि धान बाली लगाउने गर्नुहुन्छ । समयमा मल, बीउ र पानी पु¥याउन सके नेपाललाई आवश्यक पर्ने खाद्यान्य र तरकारी नेपाल मै उत्पादन गर्न सकिने उहाँको भनाई छ । तर,भारतमा सरकारले किसानलाई बढी अनुदान दिने गरेकोले उता सस्तो मुल्यमा उत्पादन हुने र त्यो उत्पादन नेपाल भित्रिदा नेपाली किसान मारमा पर्ने गरेको गुनासो गर्नुभयो । बन्दाकोपी पनि भारतबाट आयात भएर नेपाली उत्पादनले बजार नपाउने गरेको उहाँको भनाई छ ।
तरकारीको मुख्य बजार विर्तामोड,दमक,धरान र विराटनगर हो । गत वर्ष १४÷१५ जना कामदारले दश चक्के ट्रकमा हालेर तरकारी पठाएको सम्झदै उहाँले गतवर्षको माग धान्न नसकेपछि यो वर्ष थप एक बिघामा तरकारी लगाएको बताउनु भयो ।

























