बेलबारी । मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिक धिमालहरूको सम्मानमा नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जिवित संग्राहालय र होमस्टे (घरवास ) निर्माण गरेको छ । होमस्टे स१चालनमा आइसकेको छ भने संग्राहालय निर्माणको चरणमा छ ।
मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारी सहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समूदायको रितिरिवाज, परम्परा, भेषभुषा, खानपान र संस्कृति देख्न र हेर्न सकिने गरी धिमाल जिवित संग्राहालय र धिमाल घरबास (होमस्टे)निर्माण गरिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समूदायको राजधानी मानिन्छ । १२१ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो । उहाँका अनुसार माटी गाउँका १० घर होमस्टेका लागि छनौट भएका थिए् । जसमध्ये सुुर्यबहादुर, सुुर्यमाया,सकेन्द्र, नगेन्द्र र जोगेन्द्र धिमालले होमस्टे तयार गरिसक्नु भएको छ ।
३ लाख २६ हजार ७६३ रुपियाँमा निर्माण गरिएका होमस्टेका लागि बेलबारी नगरपालिकाले २ लाख रुपियाँ अनुदान दिएको छ भने १ लाख २६हजार ७६३ रुपियाँ स्थानीय समुदायबाट खर्च भएको छ । पाँच वटा घरमा दुुई देखि तीन वटा सयन कक्ष,भित्रै शौचालय रहेका छन् ।
होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन ,चुल्होचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार सिर्जना समेत हुने जोगेन्द्र धिमालको भनाई छ।
कुनै समय झापा र मोरङका भुमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समूदायलाई आर्थिक रुपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताउनु भयो । धिमालले भन्नुभयो– मेरो ३ बिघा जग्गा थियो । अहिले भुमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छ ।
होमस्टे पछि धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल संग्राहालय निर्माण गरिने जोगेन्द्र धिमालले बताउनु भयो । बेलबारी –१० माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको ९ कट्ठा जग्गामा संग्राहालय र सामूदायिक भवन निर्माण हुनेछ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देश मै पहिलो पटक धिमाल होमस्टे सुचारु भएको जानकारी दिनुुभयो । धिमाल जातिको जिवित संग्राहालय निर्माण भएपछि माटीगाउँ एउटा नयाँ पर्यटकीय गन्तब्य बन्ने नगरप्रमुख राई बताउनुहुन्छ । शताब्दि पुरानो जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस भनेर यो कार्यक्रम ल्याएका हौं । उहाँले भन्नुभयो –‘ यो कार्यक्रमले धिमाल समूदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन । स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ ।’
होमस्टेमा धिमाल समुदायले खाना परम्परागत खाना चिचिरीभात,बगिया,गेन्द्रो,चुदुर,तोये,केयाम खान पाइन्छ । यस्तै लगाउने पोशाक पेटानी, श्रममा प्रयोग हुने घरायसी सामग्री, कृषि प्रयोजनका सामानहरू हेर्न सकिनेछ । होमस्टेमा पुुग्ने पाहुनालाई धिमाल संस्कृतिबाट स्वागत गर्ने, गीत र नाँचबाट मनोरञ्जन दिने तयारी समेत भइरहेको स्थानीय लकिमाया धिमालले बताउनु भयो ।







