विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं १९ को बैजनाथपुरमा निर्माण हुने भनिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपीआर अझै बनिसकेको छैन् ।
गत वर्षको कात्तिक १९ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय योजना आयोगसँग डिपीआर निर्माणका लागि २ करोड ७९ लाख ७४ हजार रुपियाँ आवश्यक पर्ने भनी माग गरेको थियो । तत्कालिन मन्त्री डिगबहादुर लिम्बूले डिपीआर बनेर आएपछि बढीमा ३ वर्षमा गिरिजाप्रसाद कोइराला रङ्गशाला निर्माण हुने बताउनु भएको थियो । मोरङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने लिम्बूले मन्त्री हुने वित्तिकै गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि काम अघि बढाउनु भएको थियो । खेलकुद मन्त्रीबाट लिम्बू हटेपछि काम सुस्त हुँदै गएको छ । युवा तथा खेलकुद मन्त्रालयको योजना अनुगमन तथा विकास हायता शाखाका अधिकृत गणेश गुरूङले भन्नुभयो – हामीले मन्त्रालयबाट क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर ३ वर्ष भित्र आयोजना सम्पन्न गर्ने गरी राष्ट्रिय योजना आयोगमा पत्राचार गरेका थियौं । आर्थिक वर्ष २०८०/०८१ मा ६६ करोड ९३ लाख ,०८१/०८२ मा १ अर्ब ११ करोड ८९ लाख र ०८२/०८३ मा ९७ करोड ९० लाख रुपियाँ आवश्यक पर्ने भनी बजेट माग गरिएको थियो । तर, आर्थिक वर्ष ०८०/०८१ सकिन ५० दिन मात्र बाँकी हँदा सम्म आयोजनाको डिपीआरले पुर्णता पाएको छैन् । शाखा अधिकृत गुरुङले भन्नुभयो – यो आर्थिक वर्ष भित्रमा डिपीआरले पूर्णता पाउन सक्छ । गुरूङका अनुसार अहिले पनि धमाधम डिपीआरको काम भइरहेको छ ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एकमात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनाका साथ तत्कालिन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गर्ने काम सम्पन्न भयो । त्यसयता कुनै ठोस काम भएको छैन् । स्थानीय, प्रदेश सरकारको बजेट आए पनि ति बजेटबाट उल्लेखनीय काम नभएको मोरङ क्रिकेट सङ्घका प्रशिक्षक महेश रिजालले बताउनु भयो । रिजालका अनुसार अहिले पनि वर्षायाममा खेल खेल्न सकिने अवस्था छैन् । प्रदेश स्तरीय ठूला प्रतियोगिता समेत आयोजना भइसकेको क्रिकेट मैदान मर्मतमै वार्षिक ३ लाख बढी खर्च हुन्छ । पुरै घाँस मार्न मिल्दैन । लगातार प्रतियोगिता गर्न सक्ने हाम्रो क्षमता छैन् । प्रतियोगिता नभएको बेला घाँस उम्रिन्छ र समस्या हुन्छ । उहाँले एकसाता भित्र नै १९ वर्ष मुनिका खेलाडी छनौटका लागि खेल हुन लागेको बताउनु भयो ।
कोशी प्रदेश खेलकुद बोर्डका प्राविधिक प्रमुख सोभित प्रसाईका अनुसार यो मेघा प्रोजेक्ट हो । अर्वौं पैसा चाहिन्छ । टुक्राटुक्री बजेट आउँछ । त्यो टालटुल मै सकिन्छ ।
उहाँले नेपाल सरकारको बजेट भाषणमा आएर बजेटको सुनिश्चितता नभएसम्म रङ्गशाला निर्माण हुन गाह्रो छ ।
जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरेसीले सामाजिक विकास मन्त्रालयले दिएको १ करोड रुपियाँको बजेटबाट समेत काम सम्पन्न गर्न नपाएको बताउनु भयो । कुरेसीका अनुसार कोभिड अघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले १ करोड रुपियाँ विनियोजन गरेको थियो । पेवेलियम रुम सहितको ४ तल भब्य भवन बनाउन थालेको क्रिकेट सङ्घले काम बिचमै रोक्नु प¥यो । कोभिडको बाहानामा काम रोकिएपछि उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ ।
बहुउदेश्यीय खेलमैदानको अवधारण अनुसार खरिद गरिएको १५ विघा १० कट्ठा जग्गामा टेनिस कोर्ट र सुटिङ हल (सुटिङ खेल्ने घर) समेत निर्माण भइसकेका छन् । ति दुबै अहिले संरक्षणको पर्खाइमा छन् । क्रिकेट मैदान बरिपरि घेरिएको भएपनि खेलमैदानको अरु जग्गा गौचरण बनेको छ । बिहान देखि साँझसम्म स्थानीयले गाई,भैंसी बाख्रा पगाहा लगाउने गरेका छन् । 
आयोजना परिसरको एउटा घरमा २०७० साल देखि ६५ वर्षीय सुकरेतलाल सरदार बस्दै आउनु भएको छ । चौकीदारको रुपमा बस्दै आउनु भएका सरदारले तलब पाउनु हुन्न । आपसी समझदारी खेलमैदानको एक विगाहा जग्गा खेती गरेर चौकीदारी गरिरहेको सरदारले बताउनु भयो । महानगरको १९ नम्वर वडामा पर्ने यो बिशाल आयोजना भित्र चौकीदार गर्ने सुकरेतलालले मट्टितेलको बत्ती बालेर बसेको १४ महिना भयो । आयोजनाले विजुलीको बील भुक्तान नगरेपछि विद्युत प्राधिकरणले लाइन काटेको प्रशिक्षक महेश रिजालले बताउनु भयो ।
क्रिकेट रङ्गशालामात्र नभएर स्विमिङ पुल, कभर्डहल, फुटबल मैदान समेत निर्माण गरेर बैजनाथपुरलाई खेलकुद कम्प्लेक्स बनाइने महानगरको सपना छ । महानगरका नगर प्रमुख नागेश कोइरालाले भन्नुभयो – महानगरको स्रोतले धान्ने आयोजना होइन । हामीले हाम्रै पालामा रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि पहल गरेका हौं । हाम्रो बजेटले भ्याएसम्म रङ्गशाला सम्म पुग्ने सडक र बत्तीको लागि सहयोग गरेका छौं । 
हाल सम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट करिब तीन करोड बढी खर्च भइसकेको छ । क्रिकेटको टर्फ विकेट निर्माण भएको छ । जमिनलाई घेरा गरेर टर्फ विकेटसहित स्कोरर बोर्ड, साइड स्क्रिन र करिब सय जना अटाउने प्यारापिट समेत निर्माण भइसकेको छ । तर, बजेटको सुनिश्चितता नभइ साना तिना खर्चले मात्र यो आयोजना सम्पन्न हुने देखिदैन् ।






