विराटनगर ।चौथो मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेटको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
विजेता वाईआरसीसीले नगद २ लाख १ हजार रुपियाँ सहित ट्रफि जितेको छ भने उप विजेता भारतको पटनाले १ लाख १ हजार रुपियाँ प्राप्त गरेको छ । यसअघि तेस्रो संस्करणको प्रतियोगितामा पनि वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई हराएर उपाधि जितेको थियो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पटनाले १६ दशमलव ३ ओभरमा अलआउट हुँदै १०१ रन जोडेको थियो । पटनाका लागि सुदर्शन कुमारले ३२ वल खेल्दै सर्वाधिक ४६ रन बनाउनु भयो । त्यस्तै, पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन जोड्नु भयो ।
वाईआरसीसीका बलरहरू हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिनुभयो । हेमन्तले ४ ओभरमा ३२ रन खर्चिनु भयो भने रामले ३ दशवलव ३ ओभरमा १३ रन दिएर तीन विकेट लिनुभयो ।
१०२ रनको विजय लक्ष्य पछ्याएको वाईआरसीसीले ८ ओभरमा २ विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा ग¥यो । वाइआरसीसीको जितमा इमरान शेखले निर्णायक भूमिका निर्वाह गर्नुभयो । ३२ बल सामाना गर्नु भएका इमरानले ७२ रनको विस्फोटक अविजित पारी खेल्नुभयो । उहाँको नाममा ६ छक्का र ७ चौका पनि रहेको थियो । उत्कृष्ट प्रदर्शनका लागि इमरान ’प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ३ हजार रुपियाँ प्राप्त गर्नुभयो ।
यस्तै, वाईआरसीसीका शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको योगदान दिनुभयो । पटनाका बलरहरू रेहान दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिनुभयो । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा वाइआरसीसीका नरेश गिरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बेस्ट बलरमा होराइजनका दिपेश कडेल र बेस्ट ब्याटरमा पटनाका कुमार श्रेय घोषित हुनुभयो । गिरीले २५ हजार र अरु खेलाडीले नगद १५ हजार नगद र ट्रफिप्राप्त गर्नुभयो ।
विजेता तथा उप विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि क्रिकेट संघ नेपालको उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गर्नुभयो ।

























