उर्लाबारी । मोरङको उर्लाबारी –४ मा बक्राहाखोला किनारमा तीन वर्ष अघि निर्माण सुरु भएको बक्राहाघाट अझै बनिसकेको छैन् । तीब्र शहरीकरण र मानिसको जनघनत्व बढ्दै गएपछि उर्लाबारी नगरपालिकाले तीन वर्ष अघि पाँच महिनामा निर्माण सम्पन्न गर्ने गरी घाट निर्माण सुरु गरेको थियो ।
उर्लाबारी –४ का स्थानीय ३५ जनाले ४ बिघा जग्गा बक्राहाघाट निर्माणका लागि दिनु भएपछि सोही स्थानमा घाट निर्माणको डिपीआर बनेको थियो ।२०७४ मा नै नगरपालिकाले नगरको गौरवको योजनाघाट निर्माण गर्ने योजनाको रुपमा घाट निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरेको थियो । तर,उसबेला जग्गा प्राप्ति नभएपछि बजेट फ्रिज भयो । तत्कालिन नगर प्रमुख खड्गबहादुर फागोले नगरको गौरवको आयोजनाका रुपमा निर्माण गर्न प्रस्ताव गरेको आयोजनालाई नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा पनि यही कार्यक्रम राखेको थियो । अघिल्लो कार्यकालमा डिपीआर समेत भइसकेको आयोजना २०८० काे मङ्सिर ३० गते सम्पन्न हुने गरी निर्माण सुरू भएकाे थियाे । 
उर्लाबारीमा व्यवस्थित घाट नहुँदा बक्राहा खोलाको पूर्व पश्चिम दुबै किनारमा शव जलाउने गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अब्यवस्थित ठाउँमा शव जलाउँदा ठूलो समस्या हुँदै आएको थियो । बक्राहा खोला किनारमा दैनिक २÷३ वटा शवको अन्त्येष्टि हुने गर्छन् । व्यवस्थित घाट नहुँदा जथाभाबी रुपमा शव जलाउँदा खोला किनारमा बसोवास गर्ने समुदायको स्वास्थ्यमा असर पर्नुका साथै नदीको सौन्दर्यता र बरिपरिको वातावरण समेत प्रदुषित र दुर्घन्धित हुँदै गएकोले ब्यवस्थित घाट निर्माणका लागि जग्गा उपलब्ध गराएको जग्गादाता लोकबहादुर कट्वालले बताउनु भयो ।
नगरपालिकाले घाट निर्माणका लागि आर्थिक वर्ष ०७९÷८० मा ७० लाख रुपियाँ विनियोजन गरेकोमा ६३ लाख ४५ हजार ५४९ रुपियाँ ९७ पैसामा आयोजनाको ठेक्का लागेको छ । २०८० को असार २८ गते द्रोणिका कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजना २०८० को मङ्सिर ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, २८ महिना बितिसक्दा पनि घाट निर्माण सम्पन्न भएको छैन् ।
वडा नंं ४ का वडाध्यक्ष कल्याणकुमार राईले ‘बक्राहा खोलाको पश्चिम तर्फ पनि अर्को घाट निर्माण प्रक्रिया सुरु भएकोले एकै पटक दुबै तर्फका घाट सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँका अनुसार पश्चिम तर्फ एउटा घाट निर्माणधीन अवस्थामा छ । पूर्वतर्फ घाटसँगै मलामी विश्रामालय,स्नानघर,किरियापुत्री घर र शौचालय निर्माण भइसकेका छन् । शवदाह स्थलको मुनि राख्ने विशेष प्रकारको ईंट बिच्छ्याउने बाहेक सबै काम सकिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले आगामी बैशाख महिनामा दुबै तर्फका घाट सञ्चालनमा आउनेछन् ।






