Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ/   अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा भव्य कार्यक्रम सम्पन्न गरिएको छ। यस वर्ष “Our Nurses, Our Future: Empowered Nurses, Save Lives” भन्ने मूल नाराका साथ विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै गरिएको सन्दर्भमा मोरङमा पनि विविध कार्यक्रमसहित दिवस मनाइएको हो।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सभाहलमा आयोजित कार्यक्रममा नेपाल नर्सिङ संघ जिल्ला कार्य समितिका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरू, अस्पतालका निर्देशक, महाप्रबन्धक, नर्सिङ निर्देशक, मेट्रोन, नर्सिङ सुपरभाइजर, इन्चार्जहरू, विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्सिङ निर्देशक, मेट्रोन, नर्सहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङकी अध्यक्ष श्रीमती लजिता योञ्जनले अन्तर्राष्ट्रिय नर्स दिवसको महत्व, नर्सहरूको भूमिका तथा उनीहरूको हकहित र पेशागत सशक्तीकरणका विषयमा प्रकाश पार्नुभएको थियो। उहाँले स्वास्थ्य सेवाको अग्रपंक्तिमा रहेर नर्सहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै नर्सहरूको सम्मान, सुरक्षा र क्षमता अभिवृद्धिमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा मोरङका बसिष्ठ नर्सिङ प्राध्यापक श्री नीला सुब्बा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला तथा महाप्रबन्धक दिपेश रार्इले मन्तव्य व्यक्त गर्दै स्वास्थ्य सेवामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको समर्पण र मेहनत प्रशंसनीय रहेको धारणा राख्नुभएको थियो।

औपचारिक कार्यक्रमपछि विभिन्न नर्सिङ कलेजबाट आएका सहभागीहरूबीच वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगिताले सहभागी विद्यार्थीहरूमा ज्ञान, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

उत्साहपूर्ण सहभागिता र सन्देशमूलक कार्यक्रममार्फत यस वर्षको अन्तर्राष्ट्रिय नर्स दिवस मोरङमा प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।



Share via
Send this to a friend