हरिप्रसाद कोइराला,
मोरङ । तराईको सुगम मानिने मोरङ जिल्लामा नै बैंकिङ सेवाको पहुँच पनि असमान देखिएको छ । तथ्याङ्क कार्यालय मोरङका अनुसार (२०८०) मा जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ ।
जिल्लाभर १७ स्थानीय तहमा १९ वटा वाणिज्य बैंकका १९८ शाखा र १० वटा विकास बैंकका ६२ शाखा गरी कुल २९ बैंकका २६० शाखा सञ्चालनमा छन् । जनसंख्याको अनुपातमा हेर्दा एउटा शाखाले औसत ४ हजार ४१५ जनालाई सेवा दिनुपर्ने देखिन्छ । तर, बैंकिङ सेवाको पहुँच ठूलो असमानता छ । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा सबैभन्दा राम्रो बैंकिङ पहुँच पुगेको छ । २ लाख ४३ हजार ९२७ जनसंख्या रहेको महानगरमा ९७ वाणिज्य र १६ विकास बैंक गरी ११३ बैंकका शाखा छन्। औसतमा एउटा शाखाले २ हजार १५८ जनालाई सेवा दिइरहेको छ । तथापि, सबै बैंक शहर केन्द्रीत हुँदा वडा नं. १८ र १९ का वासिन्दालाई बैंक पुग्न सकस छ । वडा नंं.१८ साविक बुधनगर गाविसका आधा वडा मिलाएर बनाइएको हो भने बैजनाथपुर गाविसलाई वडा नंं १९ बनाइएको हो । भूगोल महानगर बन्यो तर,सुविधा लिन शहर जानैपर्छ । वडा नंम्वर १९ का वडाध्यक्ष श्यामप्रसाद घिमिरेले भन्नुभयो–’सुरुका दिनमा वडा मै बैंक ल्याउन प्रयास ग¥यौं । सफल भइएन त्यसपछि बुढीगङ्गा गाउँपालिकाका बैंकबाट काम चलाउन थाल्यौं ।’
जहदा गाउँपालिकामा ४७ हजार ६३९ जनसंख्याका लागि एउटा मात्र बैंक हुँदा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन भइरहेको छ। विराटनगर महानगरसँगै जोडिएको जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनले भन्नुभयो –‘ सामासजक सुरक्षा भत्ता लिनेबेलामा जेष्ठ नागरिकले घेर्नु हुन्छ । हामीले मिलन चौकमा शाखा ल्याउन पहल ग¥यौं ,तर बैंकहरू आएनन । ५१ हजार ४९७ जनसंख्या रहेको बुढीगंगा गाउँपालिकामा ६ वटा मात्र बैंक छन् । जसमा एउटा औद्योगिक क्षेत्रमा सीमित छ। यहाँ औसत १० हजार २९९ जनाले एउटा शाखाबाट सेवा लिनुपर्छ ।
दक्षिणी मोरङको सुनवर्षी नगरपालिकाका बासिन्दाको बैैंकिङ पहुँच अझ कमजोर छ । ५६ हजार ३४ जनसंख्या रहेको यस नगरपालिकामा एउटा विकास बैंक र दुई वटा वाणिज्य बैंक मात्र छन् । जसमा एउटा शाखा एक्सटेन्सन काउन्टर मात्र हो । यहाँ एउटा शाखाले १८ हजार ६७८ जनालाई सेवा दिनुपर्ने अवस्था छ । व्यापारिक दृष्टिले महत्वपूर्ण स्थान हुँदाहुँदै पनि यहाँ बैंकहरूले नयाँ शाखा विस्तार गरेका छैनन् ।
उता, उत्तरी मोरङको लेटाङ नगरपालिकामा पनि भौगोलिक कठिनाइका कारण बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन । वडा नं. ७ का बासिन्दाले वर्षायाममा बैंक पुग्न पूरै एक दिन खर्चिनुपर्ने अवस्था छ भने वडा नं. १ का स्थानीयले पनि सास्ती खेप्नुपरेको छ । ३८ हजार १५६ जनसंख्या रहेको लेटाङमा ७ वाणिज्य र १ विकास बैंक भए पनि ती सबै बैंक मुख्य बजारमै केन्द्रित छन् । यहाँ प्रति शाखा ४ हजार ७६९ जनाले सेवा लिनुपर्छ ।
कानेपोखरी गाउँपालिकामा बैंकिङ पहुँच झन् चुनौतीपूर्ण छ। ४३ हजार १९३ जनसंख्या रहेको यहाँ २ वाणिज्य र १ विकास बैंक मात्र छन्, ती पनि साविक वयरवन गाविसको रमाइलो क्षेत्रमा सीमित छन्। चिसाङ खोलामा पुल नहुँदा होक्लावारी क्षेत्रका बासिन्दाले अर्को पालिका नभई मोटर,मोटरसाइकल, साइकल चढेर आफ्नो पालिकाका बैंक पुग्न सक्दैनन । कानेपोखरीमा एउटा शाखाले औषत १४ हजार १९३ जनालाई वित्तीय सेवा दिइरहेको छ ।
मोरङमा सुन्दरहरैंचा नगरपालिकामा मात्र बैंकिङ सेवा सन्तुलित रूपमा विस्तार भएको छ । १ लाख २० हजार २१३ जनसंख्या रहेको यहाँ २१ वाणिज्य र १० विकास बैंक गरी ३१ शाखा सञ्चालनमा छन्। यहाँ एउटा शाखाले औसत ३ हजार ८७७ जनालाई सेवा दिइरहेको छ। महानगरसँगै जाडिएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी भन्नुहुन्छ–‘एनआइसी एसियाले शाखा ल्याउने भनेको थियो । तर, ल्याएन । हामीले अरु बैंकसँग पनि अनुरोध ग¥यौं । बैंकहरूले त्यति चासो देखाएनन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भन्नुभयो – ‘सुरुमा ७५३ पालिकामा कम्तीमा एउटा बैंक पु¥याउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । अहिले सबै पालिकामा बैंक पुगिसकेका छन् । बैंकहरू आफ्ना शाखा कहाँ कहाँ विस्तार गर्ने भन्ने विषयमा स्वायत्त छन् । हामीले निर्देशन दिने विषय होइन । तर, वित्तीय पहुँच समान रुपमा पुग्नुपर्छ भन्ने विषयमा केन्द्रीय बैंक सधैं सचेत छ । प्रवक्ता पौडेलले सुरक्षा, ब्यापार,सूचना प्रणाली मजवुद भएका ठाउँलाई मात्र बैंकले प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।






