मोरङ / नेपाली कांग्रेसका महासमिति सदस्य तथा मोरङ–३ का निवर्तमान सांसद डा. सुनीलकुमार शर्माले आर्थिक रूपमा अति विपन्न नागरिकका लागि स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण पहल अघि बढाउनुभएको छ।
डा. शर्माका अनुसार मोरङ जिल्लासहित देशका दुर्गम क्षेत्रहरू—हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान—तथा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, साथै दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बसोबास गर्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै काठमाडौँ मेडिकल कलेज प्रा.लि.द्वारा भक्तपुरको दुवाकोटस्थित सुपरस्पेसियालिटी अस्पतालमा उपचारमा विशेष छुटको व्यवस्था गरिएको हो।
उहाँले जनाउनुभएअनुसार, बिरामीको आर्थिक अवस्थालाई
आधार मानेर पूर्ण वा आंशिक छुट प्रदान गरिनेछ। अर्को वैकल्पिक व्यवस्था नहुन्जेलसम्मका लागि यो सुविधा निरन्तर रहने बताइएको छ। सेवा लिन इच्छुक व्यक्तिहरूले सम्बन्धित पालिका वा वडा कार्यालयबाट अनुसूची–२ अनुसारको सिफारिस फाराम तथा आवश्यक कागजात लिएर अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।
डा. शर्माले स्वास्थ्य सेवामा पहुँच नपाएका नागरिकलाई राहत दिने उद्देश्यले विगतदेखि नै विभिन्न मानवीय कार्यहरू गर्दै आउनुभएको छ। उहाँकै पहलमा हालसम्म देशभरका करिब साढे तीन लाख नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरिसकेका छन्।
त्यसैगरी, अति विपन्न तथा दलित समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क रूपमा चिकित्साशास्त्र अध्ययनको अवसर उपलब्ध गराउने व्यवस्था समेत उहाँले मिलाइदिनुभएको छ। यसले सामाजिक न्याय र समान अवसरको दिशामा महत्वपूर्ण योगदान पुगेको स्थानीयहरू बताउँछन्।
डा. शर्माको यो पहलले दुर्गम र विपन्न समुदायका नागरिकमा आशा जगाएको छ भने स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न राज्यले गर्नुपर्ने कामलाई समेत स्मरण गराएको छ।






