Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडाैं ।  काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका–इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको सफल उपचार सेवा लिनुहुने पहिलो बिरामी बन्नुभएको छ। पेट तथा मुटु दुख्ने समस्याले पिरोलिएपछि उहाँलाई उहाँका छोरा अजयले उपचारका लागि अस्पताल ल्याउनुभएको थियो। त्यसपछि अस्पतालको अत्याधुनिक प्रविधिसहित विशेषज्ञ चिकित्सकहरूको टोली उहाँको उपचारमा सक्रिय भएको थियो।

मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले उहाँको मुटुको विस्तृत परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक डाइग्नोस्टिक एन्जियोग्राम सम्पन्न गर्नुभएको हो। करिब ३० मिनेट लामो उक्त परीक्षणका क्रममा उहाँको मुटुका दुई वटा नशा अवरुद्ध भएको पत्ता लागेको थियो। पहिलो प्रयासमै यस्तो महत्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा डा. तामाङले खुशी व्यक्त गर्नुभएको छ। हाल बिरामीको अवस्था स्थिर रहेको र चिकित्सकहरूको सल्लाहअनुसार परिवारले चाँडै नै अवरुद्ध नशा खुलाएर स्टेन्ट (जाली) राख्ने तयारी गरिरहेको जनाइएको छ।

एन्जियोग्राम भनेको मुटुको नशाको अवस्था पत्ता लगाउने एक सूक्ष्म परीक्षण हो। सामान्यतया मुटु दुख्दैमा हृदयघात भएको नै हुन्छ भन्ने छैन। यस्तो अवस्थामा एन्जियोग्रामले नशा अवरुद्ध भए/नभएको र हृदयघातको जोखिम कति छ भन्ने स्पष्ट पार्न मद्दत गर्दछ। केएमसी दुवाकोटमा सञ्चालनमा आएको क्याथ ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने, स्टेन्ट राख्ने तथा भल्भसम्बन्धी उपचारलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

यस सफल उपचारसँगै अब भक्तपुरवासी मात्र नभई आसपासका क्षेत्रका मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीहरूलाई आफ्नै नजिक सहज रूपमा सेवा उपलब्ध हुने विश्वास लिइएको छ।

दुवाकोटमा नेपाली काँग्रेसका नेता  एवम्   माेरङ ३ का निवर्मान सांसद डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट सञ्चालनमा ल्याउनुभएको थियो।



Share via
Send this to a friend