विराटनगर / अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको नर्सिङ विभाग (शैक्षिक तथा क्लिनिकल नर्सिङ) को आयोजनामा विशेष सम्मान तथा प्रशंसा कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. राजेश नेपाल, अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला, नायव प्रमुख कार्यकारी अधिकृत प्रा. डा. विजय साह, सहप्राचार्य प्रा. डा. ऋतु बराल, नर्सिङ निर्देशक श्री इन्दिरा पोखरेल, मेट्रोन श्री श्रीजु पराजुली, नर्सिङ फ्याकल्टी, नर्सिङ सुपरभाइजर, इन्चार्ज, नर्स तथा नर्सिङ स्टाफहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अस्पतालका विभिन्न विभागमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर तथा समर्पित रूपमा सेवा प्रदान गर्दै आएका नर्सहरूलाई सम्मान गरिएको थियो।
सघन उपचार कक्ष, अपरेशन थिएटर, आकस्मिक कक्ष लगायत विभिन्न विभागमा कार्यरत वरिष्ठ नर्सहरूको निरन्तर योगदान, समर्पण र मानवीय सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा अस्पताल प्रशासनले गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको दीर्घ सेवाप्रति कृतज्ञता व्यक्त गरेको थियो। साथै, नर्सहरूको अथक मेहनत, सेवाभाव र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले नर्सहरूको मनोबल अभिवृद्धि गर्नुका साथै स्वास्थ्य क्षेत्रमा उनीहरूले पुर्याउँदै आएको योगदानप्रति सम्मान प्रकट गरेको सहभागीहरूले बताएका छन्।






