काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उहाँले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्व हराएको टिप्पणी गर्नुभएको छ।
उहाँले लेख्नु भएको छ, “तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा उत्तरदायित्व नामको लङ्गोटी कसैको नजरमा परेन। हामी त अझै त्यो डोरीमै समात्न बाध्य छौँ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने?”
डा. शर्माले बजेटले समन्यायिक वितरण, समान पहुँच र जबाफदेहिताको प्रत्याभूति दिन नसकेको आरोप लगाउँदै जनमुखी खर्च सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ।
सांसद डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एकमात्र सांसद हुनुहुन्छ। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनु भएका उहाँले उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं वा विराटनगर ल्याई निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आउनु भएको छ।
उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शैय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। हालै उहाँले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ भने देशका सात स्थानमा निजी पहलमा एम्बुलेन्स सेवा पनि पुर्याइसक्नु भएको छ।






