विराटनगर । विराटनगर विमानस्थल परिसरभित्र उपभोक्तासँग अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा अत्यधिक बढी रकम असुल्ने चारवटा व्यवसायलाई कारबाही गर्दै १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मङ्गलबार भएको संयुक्त बजार अनुगमनका क्रममा विमानस्थलभित्र सञ्चालित विभिन्न होटल तथा क्याफेहरूले एमआरपीभन्दा दोब्बर तथा सोभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटलले १०० रुपैयाँ मूल्य पर्ने डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। त्यसैगरी, विमानस्थलको क्यान्टिन कक्षमा सञ्चालित ग्यालेक्सी क्याफे एन्ड होटल प्रालिले ५० रुपैयाँ मूल्य पर्ने कोकाकोला १६० रुपैयाँमा बिक्री गरेको पाइएको छ।
यस्तै, विमानस्थल परिसरभित्र रहेको गरिमा क्याफेले ५० रुपैयाँ मूल्य पर्ने कोकाकोला ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकूल होटल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य पर्ने चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको अनुगमन टोलीले जनाएको छ।
एमआरपीभन्दा अत्यधिक बढी मूल्यमा वस्तु बिक्री गरी उपभोक्ता हितविपरीत कार्य गरेको ठहर गर्दै चारवटै व्यवसायलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गतको कसुरमा सोही ऐनको दफा ३९ उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येकलाई ३ लाख रुपैयाँका दरले कुल १२ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक बेनु कुमार कार्की, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी तथा अन्य कर्मचारी र प्रहरीको सहभागिता रहेको थियो।
अनुगमन टोलीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई थप प्रभावकारी बनाइने तथा कालोबजारी र अनुचित मूल्यवृद्धि गर्ने व्यवसायमाथि कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।






