विराटनगर । शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द्र, विराटनगरमा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालनमा ल्याइएको छ ।
आकस्मिक सेवाको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले हृदय रोग विश्वकै प्रमुख स्वास्थ्य चुनौतीमध्ये एक रहेको उल्लेख गर्दै नेपालमा पनि हृदयघात, उच्च रक्तचाप तथा अन्य मुटुसम्बन्धी समस्याका बिरामीको संख्या बढ्दै गएको बताउनु भयो। यस्ता बिरामीलाई समयमै आकस्मिक उपचार उपलब्ध गराउन सके जीवन रक्षाका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री लिम्बूले सहज उपचार सेवामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हृदय रोग केन्द्रमा आकस्मिक सेवा सञ्चालनमा आएपछि मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीले छिटो, सहज र प्रभावकारी उपचार सेवा पाउने मन्त्री लिम्बूले बताउनु भयो । विगतमा सीमित सेवा सञ्चालन हुँदै आएको केन्द्रलाई थप व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने बताउँदै स्वास्थ्य बीमा सेवाबाट समेत उपचार सेवा लिन सक्ने ब्यवस्था रहेको उहाँको भनाई छ ।
पूर्वी नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित कोशी प्रादेशिक अस्पतालले दैनिक ठूलो संख्यामा बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। आकस्मिक सेवाको विस्तारसँगै प्रदेशवासीले अझ गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विशेषज्ञ जनशक्ति व्यवस्थापन, अत्याधुनिक उपकरणको उपलब्धता, सेवा विस्तार तथा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणका लागि निरन्तर काम गरिरहेको जानकारी दिइएको छ ।
हृदय रोग केन्द्रको स्थापना तथा सेवा विस्तारमा योगदान पु¥याउने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै शुभारम्भ गरिएको आकस्मिक सेवाले नागरिकको जीवन रक्षा, उपचारमा पहुँच वृद्धि तथा स्वास्थ्य सेवाप्रतिको विश्वास अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा स्वास्थ्य सचिव यदुचन्द्र घिमिरेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।






