Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसदीय समितिको बैठकमा पत्रकारबारे दिएको अभिव्यक्तिलाई लिएर पत्रकार वृत्तमा तीव्र असन्तुष्टि देखिएको छ। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल ले अर्थमन्त्री वाग्लेको टिप्पणीलाई पत्रकारको अपमान र प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष प्रहारको संज्ञा दिएका छन्। आर्थिक विधेयकमा संशोधन गरिएको तथा विद्युतीय सवारीसाधनमा करका दर हेरफेरसम्बन्धी सूचना चुहावट भएको आशंकामा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि आलोचनाको केन्द्रमा रहेका अर्थमन्त्री वाग्लेले अर्थ समितिको बैठकमा पत्रकारप्रति आक्रोश पोख्दै ‘माइक्रोसफ्ट वर्ड चलाउन पनि जान्दैनन्’ भन्ने टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको भनाइ गैरजिम्मेवार, अहंकारी र पदको मर्यादाविपरीत रहेको बताएका छन्। “पत्रकारप्रति होच्याउने शैलीमा गरिएको टिप्पणीले तपाईंको विद्वता होइन, असहिष्णुता प्रदर्शन गरेको छ,” पौडेलले लेखेका छन्, “नामअघि ‘डा.’ लेख्दैमा कोही लोकतान्त्रिक हुँदैन। आलोचना सहन नसक्ने प्रवृत्तिले विद्वताको होइन, सत्ताको मात चढेको मानसिकताको परिचय दिन्छ।” पौडेलले सञ्चारमाध्यमले उठाएका प्रश्नको तथ्य र प्रमाणसहित जवाफ दिनुको सट्टा पत्रकारको क्षमतामाथि नै प्रश्न उठाउनु दुःखद भएको बताएका छन्। “यदि समाचार गलत छन् भने त्यसको खण्डन गर्नुस्, प्रमाण सार्वजनिक गर्नुस्। तर पत्रकारलाई अपमान गरेर सत्य लुकाउन खोज्नु लोकतान्त्रिक अभ्यास होइन,” उनले उल्लेख गरेका छन्। पत्रकार महासंघ निकट विभिन्न सञ्चारकर्मीले समेत सामाजिक सञ्जालमा अर्थमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। उनीहरूले जनप्रतिनिधि र मन्त्रीहरूले आलोचनालाई जवाफ दिनुपर्ने भए पनि पत्रकारमाथि व्यक्तिगत टिप्पणी गर्नु अनुचित भएको बताएका छन्। राज्यका उच्च पदमा रहेका व्यक्तिहरूबाट प्रेसप्रति सम्मानजनक व्यवहार अपेक्षा गरिने भए पनि पछिल्लो अभिव्यक्तिले सरकार आलोचना गर्नेहरूप्रति असहिष्णु बन्दै गएको संकेत गरेको टिप्पणी पत्रकार वृत्तमा हुन थालेको छ। यसैबिच सन्चारकर्मीले पनि प्रश्न उठाएका छन्, आर्थिक विधेयकमा भएको भनिएको चलखेलबारे उठेका प्रश्नको उत्तर दिने कि प्रश्न उठाउने पत्रकारमाथि नै प्रहार गर्ने? लोकतन्त्रमा उत्तरदायित्वबाट भाग्ने माध्यम पत्रकारलाई होच्याउनु हुन नसक्ने उनीहरूको भनाइ छ। अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्तिपछि सञ्चार क्षेत्र र सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ।



Share via
Send this to a friend