Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकमार्फत छाला, कुष्ठ तथा सौन्दर्यसम्बन्धी रोगहरूको उपचार सेवा प्रदान गर्दै आएको छ। छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतोदेखि लिएर कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी विभिन्न समस्याको उपचार अस्पतालमा उपलब्ध रहेको जनाएको छ।

अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा ‘कन्भेन्सनल डर्माटोलोजी’ र ‘कस्मेटिक डर्माटोलोजी’ गरी दुई भागमा विभाजन गरिएको छ। नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा सञ्चालनमा छन्।

कन्भेन्सनल डर्माटोलोजीअन्तर्गत एलर्जी, छालामा आउने र्‍यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको पहिचान र उपचार गरिन्छ। त्यस्तै कस्मेटिक डर्माटोलोजीअन्तर्गत छालाको सौन्दर्य अभिवृद्धि गर्ने लेजर, बोटोक्स, फिलरलगायतका आधुनिक उपचार सेवा उपलब्ध छन्।

डा. प्रधानका अनुसार पछिल्लो समय सौन्दर्यप्रति मानिसहरूको चासो बढ्दै जाँदा यस्ता सेवा लिनेको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। उपचारका लागि आउनेमध्ये धेरैजसो सेवाग्राही रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि आउने गरेका छन्। विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर अस्पताल पुग्ने गरेका छन्। कतिपय अवस्थामा यस्तो समस्या विभिन्न रोगका कारण हुने भएकाले रोगको पहिचान गरी उपचारसमेत गरिने उहाँले बताउनुभयो ।

नोबेल अस्पतालमा छाला रोग उपचार सेवा सुरु भएको करिब दुई दशक पूरा भइसकेको छ। उपचारबाट सन्तुष्ट भएका सेवाग्राहीहरूले अन्य व्यक्तिलाई समेत सिफारिस गरेर ल्याउने गरेको अनुभव अस्पतालको छ। धेरैजसो छाला तथा सौन्दर्यसम्बन्धी उपचार एकपटक मात्र गरेर नपुग्ने भएकाले आवश्यकताअनुसार पटक–पटक उपचार गर्नुपर्ने डा. प्रधान बताउँनु हुन्छ ।

अस्पतालमा आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सी सेवा उपलब्ध छ। साथै कार्बन पिलिङ र हाइड्राफेसियलजस्ता अत्याधुनिक प्रविधिमार्फत छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि सञ्चालनमा छ।

टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ भने कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड (सीओ₂) लेजर वा आवश्यक परे शल्यक्रियामार्फत उपचार गरिन्छ। डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग हुने गरेको अस्पतालले जनाएको छ।

कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि अस्पतालमा विशेष सेवा उपलब्ध छ। कपाल झर्ने वा नउम्रिने समस्या लिएर आउने सेवाग्राहीलाई आधुनिक प्रविधिमार्फत उपचार प्रदान गरिन्छ। लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधानको भनाइ छ। साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचारसमेत उपलब्ध छ।

दुबी (सेतो दाग) को उपचारका लागि औषधिसँगै फोटोथेरापी विधि प्रयोग गरिन्छ। नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास वृद्धि गर्ने उद्देश्यले आधुनिक प्रविधिमा आधारित विविध सेवा प्रदान गर्दै आएको डा. प्रधानले बताउनु भयाे ।



Share via
Send this to a friend