विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–४ हातिमुडास्थित पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राङ्गणमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका छन्।
नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा सम्पन्न एकदिने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नु भएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग, ग्यास्ट्रोएन्टेरोलोजी तथा रेडियोलोजी सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। साथै रगत तथा अन्य आवश्यक प्रयोगशाला परीक्षण, पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण र स्तन क्यान्सर परीक्षणसमेत गरिएको नोवेल अस्पतालका महाप्रवन्धक दीपेश राईले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत २७५ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य जाँचको सुविधा प्राप्त गरेका छन्। आयोजकका अनुसार स्वस्थ समाज निर्माणका लागि समुदायसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। स्वास्थ्य शिविरले स्थानीयवासीलाई समयमै रोग पहिचान तथा उपचारको पहुँच बढाउन महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूले बताएका छन्।






