कानेपाेखरी। मोरङको कानेपोखरी गाउँपालिका २ स्थित केरौन पश्चिममा ३ वर्ष अघि निर्माण सुरु भएको केरौन १३२/३३ के. भी सब–स्टेशन आयोजना सुरु भएको तीन वर्ष बितिसक्दा निर्माण सम्पन्न भएको छैन् ।
नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरी २०७८ साउन २७ गते उक्त स्थानमा १३२÷३३ केभी सब–स्टेसन निर्माण गर्न एनर्जीपिक इन्जीनियरिंग– एस आर एसोशिएटस इन्फ्रास्ट्रक्चर जेभिलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नु पर्ने थियो । तोकिएको समय भन्दा ९ महिना बढी समय गुज्रिसक्दा पनि निर्माणकार्य सम्पन्न नहुँदा केरौनबाट उत्तरी मोरङ जाने विद्युत आपुर्ति हुन सकेको छैन् । प्राधिकरणले पुन ः २०८१ कात्तिक २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरेको छ । यद्यपि काम कछुवाको गतिमा भइरहेको छ । सब स्टेशनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एशियाली विकास बैंकको ८५ करोडौ रुपियाँ ऋण सहयोगमा सब स्टेशन निर्माण भइरहेको हो । उहाँले थप भएको म्याद भित्र निर्माण सम्पन्न हुने बताउँदै हालसम्म लगभग ६० प्रतिशत काम सकिएको बताउनु भयो । एक बर्ष अगाडि निर्माणकार्यको स्थलगत अनुगमनमा आउनु भएका प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले समेत आयोजना तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनु भएको थियो । तर, निर्देशन अनुसार काम हुन सकेन ।
आयोजना प्रमुख यादवले भन्नुभयो – २०८१ माघसम्ममा आयोजनाको काम सम्पन्न गरी सो स्टेसनबाट विद्युत प्रशारण गर्ने तयारी गरिरहेका छौं । यो आयोजना नबन्दा कतै पनि विद्युत अबरुद्ध भएको होइन । हाल विद्युत वितरण गरिरहेका केन्द्रले २२० भोल्टेज दिनुपर्नेमा १७० सम्म दिइरहेका छन् । जति दिनु पर्ने हो । त्यति नै विद्युत प्रशारण गर्न यो आयोजना स्थापना गरिएको हो । यो स्टेशन सुचारु भएपछि रङ्गेली वितरण केन्द्रबाट विजुली बालिरहेका सबै खाले ग्राहक ३० वर्ष पुरानो समस्याबाट मुक्त हुनेछन् । रङ्गेलीले हाल सुनबर्सी, धनपालथान ,कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो क्षेत्रका ग्राहकलाई विद्युत वितरण गरिरहेको छ । सब स्टेशन चालु भएपछि रङ्गेलीको भार कम हुने र गुणस्तरीय सेवा प्रवाह हुने यादवको भनाई छ ।
प्राधिकरणको कोशी प्रादेशिक कार्यलयका प्रमुख उमेशकुमार झाका अनुसार माटोको समस्याका कारण डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएकोले आयोजना सम्पन्न गर्न केही ढिलाई भएको हो । यो प्राविधिक विषय हो । प्राविधिक समस्या आएपछि त्यसको समाधान प्राविधिक रुपमै गर्नुपर्छ ,उहाँले भन्नुभयो ।

























