Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच नगरवासीलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ। सम्झौतापछि गोकर्णेश्वरका स्थायी बासिन्दाले विभिन्न स्वास्थ्य सेवामा उल्लेखनीय छुट तथा आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्।
नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद डाक्टर  सुनीलकुमार शर्माको प्रमुख आतिथ्य तथा नगर प्रमुख दीपककुमार रिसालको सभापतित्वमा सोमबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हाे ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा केएमसी पुग्ने स्थायी बासिन्दाले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम, स्वास्थ्य बीमा तथा अन्य उपलब्ध सुविधा उपयोग गरेपछि थप सहुलियत प्राप्त गर्नेछन्।
केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, सिंगल क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचारमा ५० प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै सिनामंगल शाखाबाट उपचार गराउँदा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।
दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत र सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले शोधभर्ना गर्ने व्यवस्था गरिएको छ। यो सुविधा प्रतिव्यक्ति वार्षिक एक लाख तीन हजार रुपैयाँसम्म लागू हुनेछ।
मिर्गौला प्रत्यारोपण आवश्यक परेमा नगरपालिकाले प्रतिव्यक्ति थप तीन लाख नौ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनेछ। यसरी नगरपालिकाबाट एक व्यक्तिले अधिकतम चार लाख १२ हजार रुपैयाँसम्म सहायता प्राप्त गर्न सक्नेछ।
कार्यक्रममा बोल्दै केएमसीका सञ्चालक तथा पूर्वसांसद सुनीलकुमार शर्माले सम्झौतापछि गोकर्णेश्वरका नागरिकले मिर्गौला प्रत्यारोपणमा करिब १० लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्ने बताउनुभयाे । उहाँका अनुसार नगरपालिकाबाट प्राप्त हुने चार लाख १२ हजार रुपैयाँ र केएमसीले प्रदान गर्ने थप चार लाख १२ हजार रुपैयाँ बराबरको छुट जोड्दा आठ लाख २४ हजार रुपैयाँसम्मको खर्च व्यवस्थापन हुन्छ। यसमा स्वास्थ्य बीमा र विपन्न नागरिक कार्यक्रमको सुविधा थपिँदा करिब १० लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुन सक्ने उनले बताउनु भयो ।
शर्माले भारतमा मिर्गौला प्रत्यारोपण गर्दा यात्रा, बसोबास र उपचार खर्चसहित न्यूनतम ३० लाख रुपैयाँ लाग्ने उल्लेख गर्दै यस सम्झौताले गोकर्णेश्वरका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा यस्तै कार्यक्रम उपत्यकाका करिब १० नगरपालिका तथा दुर्गम क्षेत्रका १० देखि २० स्थानीय तहमा विस्तार गर्ने तयारी रहेको जानकारी दिनुभयाे। साथै, आगामी वर्ष गोकर्णेश्वर नगरपालिकाले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम लागू गरेमा केएमसीले थप दुई लाख रुपैयाँ बराबरको छुट उपलब्ध गराउने घोषणा पनि गर्नुभयाे ।
नगर प्रमुख दीपककुमार रिसालले केएमसीसँगको सम्झौताले नगरवासीलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई थप मजबुत बनाएको बताउनु भयाे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नगरपालिकाका सबै वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। सम्झौता २०८३ साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।



Share via
Send this to a friend