
तेजन खड्का
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित खरीबोट चोक नजिकै बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्छ। कोही कलाकार, कोही पत्रकार, कोही व्यवसायी र कोही सामान्य ग्राहक । सबैको गन्तव्य एउटै हुन्छ— एउटा सानो सैलुन, जहाँ कैँची चलाउने हातमाथि उनीहरूको असाधारण विश्वास छ ।
त्यो हात हो, जुरी ठाकुरको ।
आज उनलाई भेट्न पालो कुर्नेहरूमा चर्चित कलाकारदेखि प्रभावशाली व्यक्तित्वसम्म पर्छन् । तर एक समय थियो, जब उनी आफैं कलाकारसँग एउटा फोटो खिच्न पाए हुन्थ्यो भनेर सपना देख्थे । समयले यस्तो कोल्टे फेयो कि अहिले कलाकारहरू नै उनको समय माग्दै फोन गर्छन्। हामी त्यहाँ पुुग्दा कलाकारकै फोन आईरहेथियो, दादा आउँनुु न तपाई आएपछि पालो मिलिहाल्छ नि ।
‘पल सर (पल शाहा) ले कल गर्नुभएको थियो, उहाँसँग कुरा सकियो , अब तपाई र म कुुरा गरौ,उनले उत्साहित हुँदै भने ।’
महोत्तरीको कोलुवाबहेरामा जन्मिएका जुरीको जीवन कुनै सजिलो कथाजस्तो थिएन । दस कक्षा सकिएपछि पढाइको बाटोभन्दा उनले पुख्यौंली पेसाको बाटो रोजे । उनका बुबा पनि सैलुन चलाउँथे। गाउँमा कैँची चलाउन सिकेका जुरीसँग सीप त थियो, तर सपना पूरा गर्न राजधानीको कठोर संघर्ष बाँकी नै थियो ।
काठमाडौं आएको पहिलो दिनहरू सम्झिँदा उनी अझै भावुक हुन्छन्।
पत्रिका ओछ्याएर सुतेका रातहरू, इटालाई सिरानी बनाएको निद्रा, बिहान खाए बेलुका के खाने र बेलुका खाए बिहान कसरी गुजारा चलाउने चिन्ता— उनका संघर्षका ती अध्यायहरू आज पनि मानसपटलमा ताजैं छन् ।
सफलता पाएपछि घमण्ड गर्ने समाजमा उनलाई कतिपनि रवाफ छैन्।
गर्दैनन्, पनि । भन्छन—‘ हामीले हाम्रो धरातल भुुल्नुु हुुँदैन्।
‘त्यो बेला पैसा थिएन, चिनजान थिएन, तर हिम्मत थियो,’ उनी भन्छन् ।
उनले अतित कोट्याए, नयाँ ठाउँ, नयाँ शहर, नयाँ स्पर्धा कपाल काट्न जान्ने सीपले मात्र सफलता दिने अवस्था थिएन। ग्राहकको विश्वास जित्नुपर्ने थियो। आफूलाई प्रमाणित गर्नुपर्ने थियो।
बानेश्वरको ठूलो खरीबोट क्षेत्रमा एउटा सानो सटर भाडामा लिएर उनले यात्रा सुरु गरे। दिन बित्दै गए। मेहनत बढ्दै गयो। ग्राहकहरूको संख्या पनि बढ्न थाल्यो।
आज त्यही युवकले सटर मात्रै होइन, आफ्नै फ्ल््याटसहित व्यवसाय सञ्चालन गरिरहेका छन्। र, अब काठमाडौंका अन्य स्थानमा पनि शाखा विस्तार गर्ने योजनामा छन्।
कैँचीले बनाएको सम्बन्ध
जुरीको सफलताको रहस्य राम्रो कटिङ होइन। उनी ग्राहकसँग सम्बन्ध गाँस्न जान्दछन्।
उनको सैलुनबाट निस्किने अधिकांश ग्राहक राम्रो हेयरस्टाइल लिएर मात्र फर्कँदैनन, उनीहरू सन्तुष्टि लिएर फर्कन्छन्। त्यसैले एक पटक आएका ग्राहक फेरि फर्केर आउँछन्। फेरि आएका ग्राहकले अरूलाई पनि ल्याउँछन्।
उनको बोली नम्र छ, व्यवहार शान्त छ। काममा भने कुनै सम्झौता छैन।
कपाल काट्नु भनेको मात्र कैँची चलाउनु होइन, व्यक्तिको आत्मविश्वास निर्माण गर्नु पनि हो, उनी भन्ने गर्छन्।
कलाकारदेखि पत्रकारसम्मका रोजाइ
जुरी ठाकुरको सैलुन अहिले सेलिब्रेटीहरूको परिचित गन्तव्य बनेको छ।
उनले अभिनेता दिलीप रायमाझी, प्रदीप खड्का, स्वः सुनिल थापा, पल शाह, विराज भट्ट,शिव श्रेष्ठ, सिताराम कट्टेल ‘धुुर्मुुस’,रमेश उप्रेती,पत्रकार ऋषि धमाला, प्रकाश सुवेदी, अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ,नायिका रेखा थापा,बिपना थापा, गायिका ज्योती मगर, नेता रबिन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायत ३ दर्जनौं कलाकारको हेयर डिजाइन गरिसकेका छन्। अन्य को त कति हो कति भनि साध्य छैन।
अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू पनि उनको सेवाका नियमित ग्राहक हुन् ।
सुरुमा कलाकारको कपाल काट्दा उनको हात काँप्थ्यो।
कतै बिग्रियो भने? भन्ने डर हुन्थ्यो ।
तर अहिले त्यो डर आत्मविश्वासमा बदलिएको छ। कलाकारहरू उनको कुर्सीमा बसेपछि निर्धक्क हुन्छन्। किनकि उनीहरूलाई थाहा छ—जुरीको कैँचीले निराश बनाउँदैन।
आजको प्रतिस्पर्धी बजारमा जहाँ सेवाको निश्चित मूल्य हुन्छ, त्यहाँ जुरीको एउटा फरक अभ्यास छ।
उनी कपाल काटेको मूल्य तोक्दैनन्।
मूल्य मैले होइन, ग्राहकले निर्धारण गर्नुहुन्छ, उनी भन्छन्।
कसैले बढी दिन्छ, कसैले कम। तर उनी खुसी नै देखिन्छन्। उनको लागि ग्राहकको विश्वास नै सबैभन्दा ठूलो ‘पुजी’ हो।
लकडाउनका कठिन दिनहरूमा पनि उनले यही सम्बन्धलाई जोगाए। सैलुन बन्द हुँदा उनी ग्राहकको घरघरमा पुगेर सेवा दिन्थे। फोन आउँथ्यो, उनी पुग्थे।
त्यसैले महामारी सकिएपछि ग्राहकहरू फेरि फर्किए। र पहिलेभन्दा बढी संख्यामा फर्किए।
जुरी भन्छन्, कुनै पनि काम सानो हुँदैन। निरन्तरता चाँहि दिनुुपर्छ । दुख सुख त जिन्दगीका पाटा हुन्।
उनी अहिले एक दर्जन बढिलाई रोजगारी दिएका छन्। उनले धेरै शिष्य पनि तयार गरिसकेका छन्।
एक समय थियो, उनी कलाकारसँग फोटो खिच्न आतुर थिए।
एक समय थियो, आफ्नो सैलुनमा कुनै चर्चित व्यक्ति आए हुन्थ्यो भन्ने चाहना थियो।
तर आज दृश्य उल्टिएको छ।
अहिले कलाकारहरूले जुरीलाई फोन गर्छन्। समय माग्छन्, पालो कुर्छन्।
उनीहरू सेलिब्रेटी हुन्, तर उनीहरूलाई तयार पार्ने उद्यमी जुरी ठाकुर पनि कम सेलिब्रेटी छैनन्।
बजारमा सैलुन धेरै छन्। कैँची चलाउने हात पनि धेरै छन्। तर केही हात यस्ता हुन्छन, जसले कपाल मात्र काट्दैनन्, आफ्नो संघर्ष, इमानदारीता र कर्मले मानिसहरूको विश्वास पनि कोर्छन,जित्छन्।
सायद त्यसैले आज अभिनेता हुन् वा नेता, कलाकार हुन वा सामान्य नागरिक— सबै विश्वास जुरीको कैँचीमा अडिएको छ। जुरीलाई नजिकबाट चिन्नेहरु भन्छन्-‘जसले सेलिब्रेटी भेट्ने सपना देखेको थियो, तर कर्मले उनलाई स्वयं सेलिब्रेटी बनाइदियो।’






