काठमाडाैं । सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको सुर्यविनायक नगरपालिकाको कटुञ्जेमा सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले सुर्यविनायक नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ४७८ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७२ जनाको भिडियो एक्सरे, ५८ जनाको इसिजी, ९८ जनाको ल्याब परीक्षण गरिएको थियो । साथै, शिविरमा १८ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट स्वास्थ्य परीक्षण पश्चात २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको थियो ।
शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, नाक कान घाँटी रोग, आँखा रोग, दन्त रोग, शल्यक्रिया सर्जरी लगायतका सेवाहरु दिएका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शर्माले आम नागरिकलाई सर्वसुलभ र घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ स्वास्थ्य शिविर चलाउँदै आएका छन् । उनको स्वास्थ्य शिविरबाट देशभरका लाखौं जनता लाभान्वित भइसकेका छन् ।

























