पथरीशनिश्चरे। एकपक्षीय खेलमा झापा ११ फुटबल क्लब, धरान सिटी फुटबल क्लबलाई ४–० गोलले हराउँदै मोरङको पथरीशनिश्चरेमा जारी प्रथम अन्तराष्ट्रिय अामन्त्रण पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबारको खेलमा झापाका प्रदिप बुढाथोकीले ह्याट्रिक पुरा गरे । प्रस्तावित पथरी रङ्गशालामा भएको खेलमा झापा ११ का प्रदिप बुढाथोकीले खेलको नवौं मिनेटमा उत्सव राईको पासमा गोल गरे । यस्तै ४२ओैं र ५२ ओैं मिनेटमा प्रदीपले लगातार दुई गोल गर्दै जित अझ फराकिलो बनाए । प्रदीपले ४२ ओैं र ५२ ओैं मिनेट हरिबहादुर आलेमगरको पासमा गोल गरेका हुन् । अतिरिक्त समयमा पारस कार्कीको पासमा झापाका अभिषेक गुरुङले थप एक गोल गर्दै जित अझ फराकिलो बनाए । ३२ ओैं मिनेटमा झापा ११ का देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक पोष्टवारमा लागेर मैदानमा आयो तर ,झापाली खेलाडीले उक्त बल प्रहार गर्न नपाउँदै गोल रक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिएर थप खानबाट बचाए ।
आइतबारको खेलमा झापा ११ प्रदिप बुढाथोकीले म्यान अफ द म्याच घोषित हुँदै ट्रफि सहित ५ हजार रुपियाँ प्राप्त गरे । सोमबार सङ्कटा फुटबल क्लब काठमाडौं र भारतको युनाइटेड खर्साङ फुटबल क्लव बिच खेल हुनेछ ।

























