Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी भरखर २८ वर्षको पुग्नुभयो । उहाँले सर्प उद्दार गर्न थालेको आठ वर्षभयो ।
२० वर्षको उमेरमा छिमेकी प्रेम विष्टसँग सङ्गत गर्दागर्दै रमेश सर्पप्रेमी हुनुभयो । विष्ट वन प्राविधिक हुनुहुन्थ्यो । ठूला ठूला सर्प कुनै उपकरण बिना च्यापच्याप समात्ने कला थियो ,प्रेम विष्टसँग । बिष्टसँग सर्प उद्दार गर्न सिक्दासिक्दै रमेश पनि अविषालु सर्प समात्न थाल्नुभयो । पहिलोवर्ष अविषालु सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्दार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि मरिन्न भन्ने आत्मविश्वास हुँदो रहेछ । रमेशको सर्प उद्दार गर्ने अभियान यत्तिकैमा रोकिएन । प्रेम बिष्टसँग हिड्दा हिड्दै उहाँले विषालु सर्पको उद्दार गर्ने विधि, प्रक्रिया र सर्पको परिस्थितिजन्य स्वाभावहरू अध्ययन गर्ने मौका पाउनु भयो ।
आठ वर्षको अवधिमा रमेशले १ हजार २ सय भन्दा बढी सर्प उद्दार गरिसक्नु भएको छ । कहिले खेत खलियानबाट त कहिले भान्छाघरबाट । ओछ्यानबाट समेत विषालु करेत सर्प उद्दार गरिसक्नु भएका भण्डारी विषालु सर्प देख्ने वित्तिकै जोखिम र सर्तकता अपनाउनु पर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो – सर्पले उद्दारकर्तालाई चिन्छ जस्तो लाग्छ । उद्दारकर्मी पुगेपछि सर्पहरू धेरै सर्तक हुन्छन् । सर्पलाई ढुङ्गा हान्ने, लाठी प्रहार गर्ने,घोच्ने वा आगो लगाउने गर्नु हुँदैन । त्यसो गरियो भने सर्प आक्रमक हुन्छन् । ज्यान बचाउन हिंस्रक हुनसक्छन । सर्पले पीर नपरिकन मानिसलाई टोक्दैन ।
सपर्ले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। खेतबारीमा हुने मुसा नियन्त्रणदेखि कीटाणुहरू नियन्त्रण गर्न समेत सर्पको योगदान रहन्छ। तर, मानिसहरूमा अझै पनि सर्पप्रति भय रहेको छ। यही भय हटाउन रमेश भण्डारी विभिन्न विद्यालय, किसान समूह तथा स्थानीय संस्थाहरूमा सर्पसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुहुन्छ । वासस्थान जोगाउन सके सर्पहरू घरमा पस्दैनन । तर, मानिसहरू कै कारण सर्पहरू पनि जोखिममा परेको भण्डारीको बुझाई छ ।
रमेशलाई सुरुका दिनमा घर परिवारका सदस्यले यसो जोखिमपूर्ण काम नगर्न सुझाए । तर, रमेशले कसैका कुरा नसुनि सर्प उद्दारलाई निरन्तरता दिनुभयो । अचेल वर्षायाममा दैनिक जसो सर्प उद्दारमा उहाँको दैनिकी बित्छ । सर्प उद्दार स्वयंसेवी काम हो । पैसा कमाई नभएपनि रमेश दिनरात नभनी सूचना आउनासाथ घरबाट निस्किनु हुन्छ । उहाँ भन्नुहुन्छ–पैसा नकमाए पनि नाम चलेको छ । त्यसैलाई सम्पति मानेको छु ।



Share via
Send this to a friend