हरि कोइराला
बेलबारी । कोशी प्रदेशको पर्यटकीय गन्तब्य बनाउने उदेश्यले ६ वर्ष अघि निर्माण सुरु गरिएको मोरङको बेलबारी–१० भाउन्नेस्थित सृजनापार्क बजेट अभावमा अलपत्र परेको छ । २०७५ सालको फागुन ३ गते देखि २१ गतेसम्म १८ दिन सृर्जना अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला आयोजना गरी सो स्थानलाई मुर्तिकलाको अध्ययन र प्रदर्शनीस्थल बनाउने महत्वकांक्षी योजना बनाइएको थियो ।
नेपाल लगायत बङ्गलादेश,भारत,जापान,इटाली र जर्मनीका मुर्तिकारहरूको सहभागितामा सञ्चालन भएको मुर्तिकला कार्यशालामा ३० जना कलाकारले ढुङ्गामा मुर्ति खोपेका थिए । आधुनिक र परम्परागत यन्त्र प्रयोग गरेर ६ देशका कलाकारहरूले १८ दिनसम्म बिशाल ढुङ्गामा मुर्ति खोप्दा स्थानीयबासीलाई गाउँमा के? के ? न होला झैं भएको थियो । सङ्घीय,प्रदेश र स्थानीय सरकारका प्रमुखले समेत सृजना पार्क बेलबारीको बिकासमा कोशे ढुङ्गा बन्ने भाषण गरेका थिए । तर,सृजना सामूदायिक वन उपभोक्ता समूहको २१ दशमलव ९४ हेक्टर क्षेत्रफलमा फैलिएको मुर्तिकला अध्ययन केन्द्र ६ वर्ष यता जस्ताको जस्तै छ । झण्डै ५० लाख रुपियाँ खर्च भएको उक्त कार्यक्रमको आवश्यकता माथि अहिले स्थानीयले प्रश्न उठाउन थालेका छन् ।
कलाकार ढुङ्गामा मुर्ति खोपेर आफ्नो आफ्नो देश लागे । त्यसयता सृजनापार्कमा थप केही गतिविधि नभएको स्थानीय बताउँछन् । बेलबारी –१० भाउन्नेका चुडामणि बुढाथोकीले भन्नुभयो – यो पार्क बन्ना भनेर स्थानीय धेरै खुसी थिए । ब्यापार ब्यावसाय बढ्ला भन्ने अपेक्षा थियो । तर, नेताले स्थानीयलाई हौसाए मात्र ।सृर्जना पार्कमा बनेका ४० वटा मुर्ति अहिले बनमारा घारी भित्र छोपिएका छन् । लाखौं खर्च र स्रस्टाहरूको पसिना बगेका मुर्तिको संरक्षण समेत भएको छैन् । सृजना सामूदायिक वन उपभोक्ता समूह र धनु आर्ट स्टुडियो काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यशाला सकिएपछि कसैले फर्किएर नहेरेको स्थानीयको गुनासो छ । पार्क भित्र रहेका अमुर्त र मुर्त मुर्तिहरूमा लेउ पलाइसकेको छ । लेउ र धुलोले कतिपय मुर्तिले दिने सन्देश नै बदलिएको छ ।
धनु आर्ट स्टुडियोका सञ्चालक एवम् मुर्तिकार धनु याक्खाले भन्नुभयो – सानो तिनो बजेटले यो योजना सम्पन्न हुन्न । बजेट जुटाउन सकेका छैनौं । यो बेलबारी नगरपालिकाको सम्पत्ति भएकोले यसको संरक्षण र विस्तारको जिम्मा नगरले लिनु पर्ने याक्खाले बताउनु भयो । बेलबारी –१० का वडाध्यक्ष गङ्गाबहादुर याक्खाले चालु आर्थिक वर्षको बजेटमा डिपीआर गर्नलाई बजेट ब्यवस्थापन गरेका छौं । यो महत्वकांक्षी योजना भएकोले वडा, नगर र प्रदेश सरकारबाट भन्दा पनि सङ्घीय सरकारबाट सम्भव हुन्छ । त्यसैले बजेट जुटाउन हामी क्रियाशील छौं । विकास भनेको सडक र विजुली मात्र होइन भन्ने सोचेर यो योजनामा बजेट लगाउने हो भने बेलबारी अन्तर्राष्ट्रिय मुर्तिकलाको केन्द्र बन्न सक्ने उहाँको भनाई छ ।

























