हरिप्रसाद कोइराला
सुनवर्षी । संविधानसभा निर्वाचनको बेला यहाँका ठूला राजनीतिक दलले चुनावी एजेण्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं. १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन् ।
दोस्रो संविधानसभाको निर्वाचन जितेपछि तत्कालिन सभासद् चण्डीप्रसाद राईको पहलमा २०७१ सालमा पुलको निर्माण सुरु भएको हो । त्यसयता तत्कालिन अमरदह गाविसको नाम बदलिएर सुनवर्षी नगरपालिका भयो । दुईपटक सङ्घ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । वडा, नगर र सङ्घको चुनाव काङ्ग्रेस र एमालेले आलोपालो जिते भने प्रदेशमा दुबै पटक एमालेले जित्यो । सुनवर्षी –१ बाट नै प्रदेश सांसद बन्नु भएका लीलाबल्लभ अधिकारी कोशी प्रदेशको तीन पटक मन्त्री बन्नुभयो । काङ्ग्रेसका प्रभावशाली नेता डाक्टर मीनेन्द्रप्रसाद रिजाल २०७४ सालमा सङ्घको सांसद बन्नु भयो । २०८९ मा एमालेका ऋषिकेश पोख्रेल सांसद बन्नुभयो । उहाँ हाल सङ्घीय संसदमा सार्वजनिक लेखा समितिको सभापति हुनुहुन्छ । तर, पनि यो पुल १० वर्षयता बन्न सकेको छैन् ।
मोरङ २(ख) का सांसद एवम् कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले भन्नुभयो – हामीले पुल निर्माणका लागि बारम्बार ठेकदारलाई दबाब दियौं ।डेलिगेसन गयौं,तर हामीलाई पनि ठेकदारले टेरेको छैन ।सदनमा समेत कुरा उठाएको बताउँदै सरकार,निर्माण कम्पनी र नियामक निकाय जिम्मेवार र जवाफदेही नभएकोले पुल निर्माण हुन नसकेको हो । सङ्घीय आयोजना भएकोले हामीलाई टेरेनन । उहाँले आफ्नै वडाको पुल निर्माणका लागि पूर्वमन्त्री वा सांसद चुपचाप बस्यो भन्ने कल्पना पनि नगर्न आग्रह गर्नुभयो ।
सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत हाल मोरङ–२ मा पर्ने यो पुलका विषयमा वैशाख २४ गते पनि संसदमा कुरा उठाएको सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले बताउनु भयो । पोख्रेलले भन्नुभयो – सडक विभागको पुल महाशाखा जवाफदेही भएको छैन् । हामीले कि भत्काएर नयाँ बनाऔं कि परीक्षण गरेर सुचारु गरौं भनेका छौं तर प्राविधिकहरूले जवाफ दिएका छैनन् ।
सुनवर्षी १ का वडाध्यक्ष वीरबहादुर राईले पुल निर्माण भएर दुबै तर्फ माटो भर्न मात्र बाँकी रहेको बताउनु भयो । हामीले भारवहन परीक्षण गरेर मापदण्ड अनुसार भए सुचारु गरी दिन र नभए भत्काउन पटक पटक आग्रह गरिसक्यौं । जिल्ला प्रशासन कार्यालय , सडक विभागको पुल महाशाखामा धेरै पटक लिकेशन गयौं । तर, सांसद मन्त्री सिडियो सबैले निर्माण कम्पनीले नटेरेको जवाफ दिइरहनु भएको छ । वडाध्यक्ष राईका अनुसार नीलगिरी कन्ट्रक्सनका सञ्चालक युवराज डाँगी सम्पर्क बाहिर हुनुहुन्छ ।
स्थानीय टीकाराम बस्नेतले भन्नुभयो–४० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने भएपछि २०७१ सालमा यस क्षेत्रका बासिन्दाले हर्षबडाई गरेका थिए । तर,१० वर्ष भयो, पुल बनेको छैन् । झनै सास्ती सुरु भएको छ । गाविसको नाम बदलिएर नगरपालिका भयो । वडा फेरियो, जनप्रतिनिधि पटक पटक फेरिए । कसैले पुल बनाउने ठेक्दारलाई तह लगाउन सकेनन ।
३ करोड ८५ लाख रुपियाँमा नीलगिरी कन्ट्रक्सनले निर्माण गर्ने भनिएको पुल २ वर्षमा निर्माण सम्पन्न हुने भनिएको थियो ।






