Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
रतुवामाई । मोरङको रतुवामाई –४ झुर्कियाका ८० वर्षीय गणेशीराम मोचीलाई अझै पनि साइकल यात्रा नै सहज लाग्छ ।
कपाल सबै फुलिसक्यो । दाँत झरिसके । अनुहार चाउरि परिसक्यो । तर, पनि गणेशीराम साइकल चढेर दक्षिणी मोरङका बजार बजार पुग्नुहुन्छ । सडक किनारमा बसेर जुत्ताचप्पल, छाता लगायतका घरायसी समान मर्मत गर्नुहुन्छ । र दैनिक ७ सय देखि १ हजार रुपियाँसम्म कमाउनु हुन्छ । गणेशीरामले भन्नुभयो –२०२८ सालमा भारतको फुलवडिया बजार गएर ३ सय भारतीय रुपियाँका किनेको साइकल अझैसम्म चढिरहेको छु । चार पुस्ताले चढिसक्यौं । ठूलो छोरो बित्यो । उसको नाति,मेरो पनाति पनि यही साइकल सिक्दैछ । गणेशीरामका अनुसार उसबेला सडकमा बसेर जुत्ताचप्पल सिलाउने, छाता, पेट्रोलमेक्स, टर्चलाइट मर्मत गर्ने काम खुब चल्थ्यो । दैनिक ५÷७ रुपियाँ सम्म कमाइ हुन्थ्यो । गाडीघोडा मात्र होइन । सडक नै प्रसस्त थिएनन । जुत्ताचप्पल नयाँ किन्ने भन्दा मर्मत गरेर लगाउने चलन थियो ।जुत्ता चप्पल किन्न कि रङ्गेली पुग्नु प¥थ्यो कि भारतको फुलवडिया बजार जानु प¥थ्यो । गाउँघरका मेला बजारमा चप्पल जुत्ता सिलाउनेको खुब माग थियो ।त्यसैले सबैतिरका बजार पुगेर काम गर्ने ईच्छा भयो अनि तीन÷चार महिना कमाएको पैसा जम्मा गरेर साइकल किने – गणेशीरामले आफ्नो विगत सुनाउनु भयो ।
आजभोलि चप्पल जुत्ता मर्मतमा सबैभन्दा सानो काम गर्दा २५ रुपियाँ लिन्छौं । उसबेला १० पैसा लिन्थ्यौं । उतिबेला जुत्ताचप्पल,छाता,टर्च, पेट्रालमेक्स आदि मर्मत गरिन्थ्यो । आजभोलि टर्च र पेट्रोलमेक्स हराइसक्यो । जुत्ताचप्पल,बेल्ट,ब्याग छाता लगायतका सामग्री मर्मत गर्न ल्याउँछन् । पैसा दिन पनि मान्दैनन् । धेरै बार्गेनिङ हुन्छ । पेशा सम्मानित छैन् । तर, हातमा अरु केही सीप नभएपछि अपमान सहेर भए काम गरिरहेको गणेशीरामले बताउनु भयो ।
उहाँ मात्र होइन ।जुत्ताचप्पल मर्मतमा नयाँ पुस्ताको आकर्षण छैन् ।अझ महिलाहरू त, यो काम गर्दै गर्दैनन । ६८ वर्र्षीय बहादुर मोचीले भन्नुभयो– आफ्नो जमीन छैन् । काम नगरे खान पाइदैन । एउटा खुट्टो प्यारालाइस भएपनि लौरोको मद्दत लिएर मोची काम गरिरहेको छु ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मोरङको रतुवामाई नगरपालिकामा सम्मानित नौ जना मध्ये आठ जना बुढापाका हुनुहुन्थ्यो । कपडा सिलाउने, नौमति बाजा बजाउने, सर सफाइको काम गर्ने, सुन,फलामको काममा अरु जात जातिका पुरुषसँगै महिला पनि उत्तिकै खटेका छन् । राम्रो धन आर्जन गरेका छन् । तर, अस्पतालमा शव चिर्ने(पोष्टमार्टमका) सहयोगीमा डोम जाति र जुत्ताचप्पल मर्मतमा मोची जातिको मात्र सहभागिता देखिदै आएको छ ।
यसै बिच अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा उहाँहरूलाई सम्मान गर्दै रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहले सबै वर्ग समूदाय र जात जातिका लागि नगरले सम्मानका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो। औपचारिक कार्यक्रममा नगर उप प्रमुख दमयन्ता चुडाल , प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बराल लगायतले बोल्नु भएको थियो । कार्यक्रम रोजगार शाखाका संयोजक प्रदीप पराजुलीले सञ्चालन गर्नु भएको थियो ।



Share via
Send this to a friend