Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला,
लेटाङ । ताप्लेजङ र पाँचथरबाट इलाम र झापा नटेकी आउन सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको लेटाङ–६ नं.– बुधबारे सडकको ६ किलोमिटर सडक वर्षायाम सुरु हुनु अगावै कालोपत्रे हुने भएको छ ।
कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेशको राजधानी विराटनगरसँग जोड्ने छोटो सडकका रुपमा लेटाङ–६ नं.– बुधबारे सडक निर्माण सुरु गरेको हो । २९ दशमलव ६० किलोमिटर लम्बाईको यो सडक कोशी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री केदार कार्कीले २०८० मङ्सिर २२ गते शिलान्यास गर्नु भएको थियो ।
राँके रवि र भेडेटार नभई सिंधै फिदिमबाट धनकुटाको चौविसे हुँदै मोरङको लेटाङ कानेपोखरी सडकसँग जोडिने यो सडक मेची राजमार्गबाट विराटनगर पुग्न भन्दा आधा छोटो छ । ८७ करोड ३ लाख ५३ हजार २७ रुपियाँमा निर्माण सम्पन्न हुने यो सडक २०८३ को बैशाख २८ गते निर्माण कम्पनी सन्तोषी –जोया एण्ड ब्रदर्स जेभीले पूर्वाधार बिकास कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ । कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिजनल इन्जिनीयर सुशील श्रेष्ठका अनुसार चालु आवको असार मसान्त अगाडि लेटाङ–८ को याङसिलासम्म कालोपत्रे गर्ने गरी काम भइरहेको छ । श्रेष्ठले भन्नुभयो – ६ किलोमिटर सडक कालोपत्रे भइ नसक्दै ३५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उहाँले काम तीव्र गतिमा भइरहेकोले निर्धारित समयमा योजना सम्पन्न हुने बताउनु भयो । सरकारले स्रोत सुनिश्चित गरेर ठेक्का लगाएको इन्जिनीयर श्रेष्ठको भनाई छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले कालेबुदुलि(कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्वा–लिम्बा) सडक कोशी प्रदेशको हिमाली जिल्लासँग तराईलाई जोड्ने छोटो सडक मार्ग भएको बताउनु भयो । सडक मार्ग छोटो भएपछि इन्धन खर्च मात्र बचेन । समय पनि बच्छ । तराईको खाद्यान्न पहाड लिएर जाने र पहाडबाट तरकारी, फलफूल,जडिबुटी लिएर आउन पनि सहज हुने नगर प्रमुख लावतीले बताउनु भयो ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले पहिलो धनकुटाको ६ नं.बुधबारेमा ट्रयाक खोल्नका लागि सडक शिलान्यास गर्नु भएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पटक पहल भएपनि सडक निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
सडक बन्न थालेपछि मोरङको पहाडी गाउँका बासिन्दा खुसीले गदगद भएका छन् । लेटाङ–८ याङ्सिलाका कृष्णबहादुर राईले भन्नुभयो – नाम्लो लगाएर अम्लिसो,तेजपात, आलु, आलुवखडा, नासपति लेटाङ पु¥याएको हिजो अस्ति जस्तो लाग्छ । घर अगाडि कालोपत्रे सडक बनेको सपना झैं लाग्छ, अहिले –उहाँले भन्नुभयो ।

 



Share via
Send this to a friend