बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका–७ मा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा तथा लायन्स क्लब अफ विराटनगर इनोभेटिभको आयोजनामा सम्पन्न भएको हो।
शिविरमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। स्वास्थ्य सेवा अन्तर्गत जेनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, शल्यक्रिया परामर्श, दन्त रोग, बालरोग, नाक कान घाँटी, हाडजोर्नी तथा नसा, आँखाको परीक्षण, रेडियोलोजी, ल्याब परीक्षण र मुटुको ईसिजीजस्ता सेवा समेटिएका थिए।
स्वास्थ्य शिविरमा स्थानीय तहको सक्रिय भूमिका उल्लेखनीय रह्यो। साथै, स्थानिय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहँदा शिविर उत्साहजनक रूपमा सम्पन्न भएको हो।
शिविरमा जम्मा ५६३ जना बिरामीहरूले सहज रूपमा सेवा प्राप्त गरेका छन्। यस्तो किसिमको कार्यक्रमबाट ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना र सेवा पहुँच विस्तारमा सकारात्मक प्रभाव परेको जनाइएको छ ।

























