Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बसन्तपुर(तेह्रथुम) । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाले नगरका तीन वटा माध्यमिक विद्यालयमा कक्षा–११ को भर्ना नलिने भएको छ । नगरमा रहेका आठ वटा सामूदायिक विद्यालय मध्ये श्रीमान् स्मारक शिक्षा निकेतन मावि मुसाङ्खेल,तीनजुरे मावि फिर्के,सिंहदेवी मावि मङ्गलबारेमा भर्ना नलिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।
सबै विद्यालयमा प्रर्याप्त विद्यार्थी नहुँदा विद्यालय सञ्चालनमा समस्या भइरहेको थियो । ११ र १२ का सरकारले अलग्गै शिक्षक दरवन्दी दिएको छैन। विद्यार्थीको अनुपात अनुसार सङ्घीय सरकारसँग दरवन्दी माग्ने अवस्था छैन् । प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो – नगरपालिका स्रोतबाट विद्यालयलाई अनुदान दिएर शिक्षकलाई तलव दिँदा महालेखा परीक्षकले तलव अनुदानलाई नीतिगत बेरुजु लेख्छ । त्यसैले नगर कार्यपालिकाको २०८२ असार २६ गते बसेको बैठकले तीन वटा विद्यालयमा भर्ना नलिने निर्णय गरेको हो । अधिकृत घिमिरेले शिक्षक र विद्यार्थी सङ्ख्याको अनुपात सम्बन्धी नीतिगत समस्याले विद्यालय सञ्चालन गर्न नसकिने भएकोले यो कार्यक्रम ल्याइएको बताउनु भयो ।
चालु शैक्षिक सत्र देखि नगरका बसन्त माध्यमिक विद्यालय र रत्न माध्यमिक विद्यालयमा मात्र ११ र १२ कक्षा पढाई हुनेछ । बाँकी ६ वटा विद्यालयमा पढि रहेका विद्यार्थीलाई खानासहित छात्रावास,निशुल्क भर्ना र मासिक शुल्क नगरपालिकाले नै ब्योहोर्ने ब्यवस्था मिलाइएको छ । वडा नं.७ को कृष्ण मावि,४ को सार्वजनिक मावि र ५ को सिंहबाहिनी माविमा भर्ना स्थगित गरिएको छैन । वसन्त मावि र रत्न माविसँग भौगोलिक रुपमा नजिक रहेका ति माविका विद्यार्थीले नगरको आवास सहितको निशुल्क शिक्षा प्रयोग गर्ने नगरको बुझाई छ । घर नजिकै गुणस्तरीय निशुल्क शिक्षा नगरले दिने भएपछि ति विद्यालयका विद्यार्थीलाई अभिभावकले स्वतः बसन्त मावि र रत्न माविमा भर्ना गर्नुहुन्छ भन्ने हाम्रो बुझाई छ । त्यसैले ति विद्यालयमा भर्ना नलिनु भन्ने निर्णय गरिएको छैन् – नगरका प्रवक्ता देवेन्द्र खड्काले भन्नुभयो ।
प्रवक्ता खड्काले बढ्दो बसाईका कारण विद्यालयमा विद्यार्थीको अभाव भइरहेको छ । हिजो जनसङ्ख्या दर बढ्दो थियो , आवश्यकता अनुसार विसम परिस्थितिमा विद्यालय स्थापना भए । अहिले ति विद्यालय सञ्चालन गरिरहन सक्ने अवस्था छैन । त्यसैले वाध्यात्मक अवस्थामा यस्तो निर्णय गर्नु परेको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख अर्जुन मावोहाङले गुणस्तरीय शिक्षा दिनका लागि नगरमा कक्षा ११ र १२ चलिरहेका तीन वटा विद्यालयमा भर्ना नलिने निर्णय भएको बताउनु भयो । विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको र धेरै जसो विद्यार्थी ११ र १२ पढ्न तराई झर्ने गरेकोले विद्यालयमा एक दुई जना विद्यार्थी राखेर ११ र १२ कक्षा सञ्चालन गर्नु भन्दा नगरका एक दुई विद्यालयमा विद्यार्थी भेला गरेर निशुल्क पढाउन यस प्रकारको निर्णय गरिएको नगर प्रमुख मावोहाङको भनाई छ । उहाँले लालिगुराँस नगरपालिकाले गरेको यो अभ्यासलाई अरु पालिकाले पनि पच्छ्याउनु पर्ने बताउनु भयो । कसैको जागिर जोगाउन,पद जोगाउन दुई चार जना विद्यार्थी राखेर कक्षा ११ र १२ चलाउनु भन्दा विद्यालय मर्जमा लगेर गुणस्तरीय शिक्षा दिनु पालिकाको कर्तब्य भएको नगर प्रमुख मावोहाङको बुझाई छ ।



Share via
Send this to a friend