Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले शिक्षा क्षेत्रको प्रोत्साहन तथा प्रगतिका लागि आयोजित छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सोमबार  सम्पन्न भएको  छ। कानेपोखरी गाउँपालिका प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम आ.व. २०८१/८२ मा विभिन्न शैक्षिक तहमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई लक्षित गरिएको थियो। छात्रवृत्तिदेखि नगद पुरस्कारसम्म कार्यक्रम अन्तर्गत ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी’ विशेष अभियान अन्तर्गत पालिकाभित्रका विभिन्न प्राविधिक विषय अध्ययनरत १८ जना विद्यार्थीलाई जनही  २७ हजार ५०० नगद छात्रवृत्तिसहित सम्मान गरिएको थियो। त्यस्तै सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गराउँदै आएका शिक्षक र कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। विद्यालय तहमा आफ्ना सन्तान पढाउँदै आएका ३० जना शिक्षक तथा कर्मचारीहरूलाई सेवा अवधिको आधारमा नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार कक्षा ५ र ८ को पालिका स्तरिय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। कक्षा ८ मा सुदर्शन निरौला प्रथम भएका थिए जसलाई नगद रू. १० हजार  दिइयो भने द्वितीय सरिना धिमालले  ७ हजार रुपैयाँ  प्राप्त गर्नुभयो । कक्षा ५ मा सृष्टि राई प्रथम हुँदै   ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । ममता भट्टराईले द्वितीय स्थान प्राप्त गरी ३ हजार  नगद पुरस्कार पाउनु भयो । एस.ई.ई. २०८१ मा उत्कृष्ट अंक ल्याउने  सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। श्री सिंहदेवी मावि, कानेपोखरी–५ की आराधना कार्कीलाई प्रथम घोषित गर्दै रू. २५ हजार , जनसेवा मावि कानेपोखरी–६ का आर्यन आचार्यलाई द्वितीय स्थानमा रू. २० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। विद्यालयहरूलाई पनि नगदसहित सम्मान एस.ई.ई. २०८१ को नतिजा विश्लेषणका आधारमा पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो।  पालिका भित्र सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षासदन मावि, कानेपोखरी–३ लाई नगद  ३० हजार  सहित  प्रमाणपत्र र दाेस्राे भएको  सिंहदेवी मावि, कानेपोखरी–५ लाई  २० नगदसहित सम्मा न पत्र प्रदान गरियो। उच्चस्तरीय सहभागिता र प्रतिबद्धता कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले पालिकाले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यालय मर्जको अवधारणासहित अघि बढेको जानकारी दिनुभयो। उहाँले शिक्षा क्षेत्रमा थप लगानी गर्दै गुणस्तर वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले विद्यालय सुधारमा सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो। विद्यालयको नकारात्मक आलोचना नगरी सहकार्यको भावना आवश्यक भएको उहाँको भनाइ थियो। गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा पूर्वाधारमा बृहत लगानी भइरहेको जानकारी दिनुभयो। उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई भविष्यमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने योग्य बनाउनु पालिकाको उद्देश्य रहेको स्पष्ट पार्नुभयो। कार्यक्रम व्यवस्थापन कार्यक्रम अध्यक्षता पालिकाका अध्यक्ष राजमती इङ्गनामले गर्नुभएको थियो। उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।



Share via
Send this to a friend