Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला,

उर्लाबारी । एशियाली विकास बैंकको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी खण्डमा नयाँ विवाद सिर्जना भएको छ ।
उर्लाबारी नगरपालिकाको पूर्वी सीमाना मावा खोला देखि बक्राहा खोला बिचको तीन किलोमिटर सडकको उत्तर तर्फ डुवान भएपछि नगरपालिकाले बस्तीको किनारबाटै नाला राख्नुपर्ने माग राखेको छ । बक्राहा खोला पूर्व उत्तरको बस्ती भन्दा सडक झण्डै १० फिट उचाईमा निर्माणधीन छ । क्रमश सडकको उचाई घट्दै गएपनि उत्तर तर्फको पानीको निकास बन्द हुँदा उत्तर तर्फ डुबान हुन थालेको छ । सडक माथि बनेको नालाले बस्तीको पानी दक्षिण तर्फ जान सक्ने अवस्था छैन ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले भन्नुभयो – साविकका पुराना पैनीहरू मासिएका छन् । आइतबारे र मालवाँसे पेट्रोल पम्प क्षेत्रको पानी दुबै तर्फ नाला बनाएर बक्राहा र मावामा हाल्न सकिएन भने बस्ती डुबानको जोखिम हुनेछ । लगातार ५/६ घण्टा पानी पर्दा उर्लाबारीका वडा नं.४,५,६ र ७ नम्बर वडाका सडक किनार क्षेत्र डुबान हुने भएकोले यति बेला नै समस्याको समाधान खोज्न लागिएको नगर प्रमुख खरेलले बताउनु भयो ।
सडक विभाग ,एडीवी आयोजना निर्देशनालयको काकरभिट्टा–लौकही सडक योजना पश्चिम खण्ड इटहरीका कार्यालय प्रमुख जगत प्रजापतिका अनुसार साविकका पुरा कल्भर्टहरूको निकास बन्द भएकोले यो समस्या आएको हो । उहाँले भन्नुभयो –‘ यो नयाँ समस्या होइन , आयोजनाले करोडौं खर्च गरेर शाखा मावा पुल बनाएको छ । तर, न उत्तरबाट पानी आउने ठाउँ छ । न दक्षिण तर्फ पानीको निकास छ । पुलमा मात्र होइन । मावा र बक्राहा खोलाको बिचमा बनेका कुनै पनि कल्भर्टमा पानीको निकास छैन् । आयोजनाले पानीको निकास छ छैन् हेरेन । साविकमा जहाँ जहाँ पुल कल्भर्ट थिए । त्यहाँ नयाँ पुल कल्भर्ट बनायो । हाल आएर ति पुल कल्भर्टबाट उत्तर जम्मा भएको पानी दक्षिण जान सक्ने अवस्था छैन । आयोजनाले सर्भे गर्दा नगरपालिका पूर्व तर्फको पानी ढल बनाएर खोलामा हाल्न सकिने देखिदैन । पानी जम्मा हुने ठाउँ भन्दा खोलाको सतह अग्लो भुभागमा रहेको छ ।
तर,नगर प्रमुख खरेलले सङ्घीय खानेपानी तथा ढल निकास ब्यवस्थापन आयोजनासँग ढल निर्माणका विषयमा परामर्श भइ काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्तर तर्फ मावा र बक्राहा बिचको पानी दुबै खोलामा हाल्न सकिने गरि नक्साङ्कन भइरहेको छ ।
यता राजमार्ग विस्तार आयोजनाका प्रमुख प्रजापतिले पनि सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाले उत्तर तर्फको पानी खोेलामा हाल्नका लागि काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यो समस्या नगरवासी कै कारण आएको बताउनु भयो ।



Share via
Send this to a friend