हरिप्रसाद कोइराला
मोरङ । एशियाली विकास बैङ्कको सहयोगमा निर्माणधीन पुर्व पश्चिम राजमार्गको काकरभिट्टा लौकही सडक खण्ड विस्तार पूूर्व निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन् ।
सबैभन्दा बढी भौतिक प्रगति भएको प्याकेज नम्बर २ को निर्माण कार्य पूूर्व निर्धारित लक्ष्य अनुसार हालसम्म ३५ दशमलव ७८ प्रतिशत हुनुपर्ने थियो ।तर,प्याकेज दुईको झापाको सीतापुरी देखि मोरङको गोठगाउँसम्मको सडकको काम २६ दशमलव १०प्रतिशत मात्रै सम्पन्न भएको छ ।पुर्वपश्चिम राजमार्ग विस्तार आयोजना पश्चिम खण्ड,इटहरी कार्यालयका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार दोस्रो प्याकेज क्षेत्रमा ४० किलोमिटर सडक पर्छ । यस क्षेत्रमा लगभग १८ किलोमिटर जङ्गल क्षेत्र पर्छ । ९ अर्ब १३ करोड ८२ लाख रुपियाँमा ठेक्का लागेको यो सडकखण्डमा हालसम्म ३ किमी सडक कालोपत्रे भइसकेको छ । उहाँले दिएको जानकारी अनुसार दोस्रो प्याकेजमा २० दशमलव ८८ प्रतिशत वित्तीय प्रगति भएको छ।
मोरङको गोठगाउँ देखि सुनसरीको लविपुरसम्मको सडकको काम कछुवाको गतिमा सञ्चालन भइरहेको छ । १० दशमलव ७६ किलोमिटर यो खण्ड चार अर्ब सात करोड ३५ लाखमा ठेक्का लागेको हो । बिचमा इटहरी उपमहानगरपालिको मुख्य बजार क्षेत्र पर्छ । यो क्षेत्रमा १२४ वटा घर टहरा हटाउन र विद्युत पोल स्थानान्तरण गर्न नसक्दा हालसम्म १२ दशमलव १२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।पुर्व निर्धारित लक्ष्य अनुसार प्याकेज नम्बर ३ को काम हालसम्म २६ दशमलव १६ प्रतिशत सम्पन्न भइसक्नुपर्ने थियो । हाल इटहरी उपमहानगरको विस्तार क्षेत्रमा परेका घर,महल भत्काउने र साइट क्लियर गर्ने काम धमाधम भइरहेको आयोजनाका सुचना अधिकारी पल्लव श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार पाँचौ प्याकेजको काम भने पुर्व निर्धारित लक्ष्य भन्दा धेरै भएको छ ।यो प्याकेजमा पुल निर्माणको ठेक्का रहेको छ ।सुचना अधिकारी श्रेष्ठले पुर्व निर्धारित लक्ष्य २३ दशमलव ८ थियो ।तर,हालसम्म २५ दशमलव ८ प्रतिशत काम सम्पन्न भएको छ । पाँचौ प्याकेजको वित्तीय प्रगति २२ दशमलव ५० प्रतिशत भएको छ । पाँचौ प्याकेजको ठेक्कामा पश्चिम तर्फका तीन वटा तीन सय मिटर भन्दा लामा पुल रहेका छन् । रतुवा,बक्राहा र लोहोन्द्रा पुलको ठेक्का ५ अर्ब ६५ करोड २६ लाख रुपियाँमा ठेक्का लागेको हो । जहाँ निर्माण क्षेत्र खालि छ,त्यहाँ काम लक्ष्य अनुसार नै भइरहेको छ । निर्माण क्षेत्र खालि गर्न नसकिएको स्थानमा समस्या उत्पन्न भएको छ ।
विगतमा अर्धशहरी क्षेत्र मानेर डिपीआर भई काम भइरहेको स्थानमा स्थानीय पालिकाले पुर्ण शहरी क्षेत्रको मापदण्ड अनुसार काम गरिदिन आग्रह गरेपछि केही स्थानमा अन्यौल सिर्जना भएको छ । फरक–फरक भूगोलमा फरक–फरक ढङ्गका अन्यौल सिर्जना भएपछि आयोजनाले ति समस्या समाधान गर्न तत्कालै सम्बन्धित मन्त्रालय मार्फत कार्यवाही अघि बढाएको छ। पथरीशनिश्चरे नगरपालिकाले नगरको मुख्य बजार क्षेत्रलाई पूर्ण शहरी क्षेत्रको मापदण्ड अनुसार निर्माण गर्न माग गरेको छ । नगरले ३३ मिटर कायम भएकोमा अब ५० मिटरको सडक बनाई सडक विस्तार गरिदिन माग गरेको छ । यस्तै सोही नगरपालिकाको वडा नं. १० को डाँस र मोरङ्गी खोला बिचको आठ सय मिटर सडक ब्यक्तिको जग्गामा रहेको छ। सडकको जग्गा ब्यक्तिले चर्चेका छन् ।४२ जना जग्गधनीको ३ बिघा १५ कट्ठा १५ धुर जग्गाको विवाद समाधान नभएसम्म उक्त क्षेत्रमा काम अघि नबढाउने सहमति जिल्ला प्रशासन कार्यालय मोरङसँग भएको थियो । आयोजनाले सडक विभाग र नापी विभागसँग जग्गा हाल साविक गर्ने विषयमा छलफल गरिरहेको सुचना अधिकृत पल्लव श्रेष्ठले जानकारी दिनुभयो ।
सूचना अधिकारी श्रेष्ठले अब मासिक ३ प्रतिशत काम गर्न सकिएन भने निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने जानकारी दिनुुभयो ।

























