काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांस डा. सुनिल शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपैयाँ दिने घाेषणा गर्नु भएको छ । मङ्गलबार बेलुकी यूएईमा हुने खेलको अन्त्यमा फ्लेक्स चेक २० लाख रुपैयाँ मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ डाक्टर शर्माको सचिवालयले जनाएको छ।
दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने निर्णय गर्नु भएको हाे ।
यस अवसरमा डा शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौँसला अझ बलियो बनाउन योगदान दिने घोषणा गर्नु भयो । सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा शर्मा मैदानमै पुग्नु भएको थियाे ।
नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रर्दसन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । आज हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उहाँ सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय हुनुहुन्छ । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उहाँका पहिचान बनेका छन्।
उहाँले भदौ २३–२४ गतेको जेन्जी आन्दोलनमा घाइतेहरूलाई नोबेल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिरहनु भएको छ । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म स्वास्थ्य शिविर सञ्चालन गर्दै, जटिल बिरामीलाई काठमाडौं र नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर भइरहेको छ।
























