कानेपाेखरी/ माेरङकाे कानेपोखरी ७ स्थित बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९औं साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
आगामी ४ वर्षका लागि चयन भएको नयाँ कार्यसमितिकाे अध्यक्षमा विजयगोपाल गड्तौला, उपाध्यक्षमा ध्रुवमाया कोइराला सापकोटा, सचिवमा लिलाबहादुर श्रेष्ठ, सहसचिवमा शिवकुमार राई र कोषाध्यक्षमा अशोक फुयल सर्वसम्मत चयन हुनु भएको हाे ।
यस्तै सदस्यहरूमा मात्रिका कोइराला, सर्न कुमार लिम्बू, राम प्रकाश राई र सेरबहादुर लिम्बू चयन हुनुभएको छ ।
महिला सदस्यतर्फ चेलिमाया दर्जी, लिला बस्नेत र शोभा रिजाल चयन हुनुभएको छ ।
त्यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा आनन्दप्रसाद दहाल र सदस्यमा एविन्द्र पाठक चयन हुनुभएको छ । एक महिला सदस्य चयन हुन बाँकी छ ।
कानेपाेखरी वडा नं. ४, ६ र ७ का उपभोक्ताहरू बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आवद्ध छन् । हाल समितिको अभिलेखअनुसार २ हजार १४६ जना उपभोक्ता रहेका छन् ।
निर्वाचन समितिले मतदाताको नामावली कात्तिक १२ गते (बुधबार) प्रकाशन गरेको थियो । सोही दिन दावी–विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता र दावी–विरोधका सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको थियो ।
निर्वाचन आयोगका संयोजक दामोदर सिग्देलका अनुसार, बिहीबारदेखि उम्मेदवारी फिर्ता तथा सहमतिको प्रयास भइरहेकोमा शुक्रबार सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएकाे हो ।
खानेपानीकाे शनिवार नवाैं साधारणसभा स्थानीय जनकल्याण माविकाे प्राङ्गणमा हुँदैछ ।






