Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । तीन वर्षयता मोरङमा मानिस र हात्ती बिच द्वन्द्व बढ्दै गएको अवस्थामा सव डिभिजन वन कार्यालय बेलबारी र बेलबारी चिसाङ साझेदारी बन उपभोक्ता समूहले हात्ती विज्ञसँग विद्यार्थी संवाद कार्यक्रम आयोजना गरेको छ ।
बेलबारी उद्योग बाणिज्य सङ्घले आयोजना गरेको दोस्रो बेलबारी महोत्सवमा आइतबार विद्यार्थीलाई मानव–हात्ती बिचको सम्बन्ध,हात्तीको चालचलन,ब्यबहार र हात्तीबाट बच्ने उपायहरू सिकाउँदै द्वन्द्व न्यूनीकरण गर्ने उपायहरूका विषयमा छलफल भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष,कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वीरेन्द्र गौतमले हात्तीको बासस्थान मासिनुु, खानेकुरा नासिनुु र आवत जावत गर्ने बाटोमा नयाँ नयाँ संरचना निर्माण भइदिँदा द्वन्द्व बढेको बताउनुभयो । गौतमका अनुसार हात्तीहरू खानपिन र आहाराको खोजीमा गाउँबस्ती पस्ने गर्छन् । जङ्गलमा हात्तीले खाने वनस्पति मासिँदै गएकाले हात्तीहरू मानव बस्तीसँग नजिकिन बाध्य भएको उहाँको भनाइ छ । गौतमले भन्नुुभयो –‘ हात्तीले दैनिक करिब २०० केजी घाँस तथा अन्न र करिब २०० लिटर पानी पिउने गर्छ । पाचन प्रणाली कमजोर भएकाले हात्तीले एकैपटक धेरै नखाने तर निरन्तर खाइरहने गर्छ ।’
हात्तीहरू पुस्तौँदेखि एउटै मार्ग प्रयोग गरेर हिँड्ने गर्छन् । पछिल्लो समय विकास निर्माणका क्रममा त्यस्ता हात्तीमार्गमा सडक, पुलजस्ता संरचना बनेका छन् । कतिपय हात्तीमार्ग खेतीयोग्य जमिनमा परिणत हुँदा हात्तीहरू अलमलमा पर्ने र फर्किन नसक्ने अवस्था आएको गौतमले जानकारी दिनुभयो । हात्तीले विशेषगरी जाँड, नुन र सख्खर मन पराउने भएकाले घरमा जाँडरक्सी, नुन, गुड, खुदोजस्ता खाद्य सामग्रीको बासना आएमा त्यस्ता घरमा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । यस्तै, दुई हात्तीबीच लडाइँ हुँदा हार्ने हात्ती आक्रामक र हिंस्रक बन्ने गरेको अनुभव पनि उहाँले सुनाउनुभयो ।
हात्तीले आफूलाई असर नपरेसम्म बिना कारण आक्रमण नगर्ने भए पनि ढुङ्गामुढा गर्ने, आगोको पुल्ठा लगाउने, होहल्ला गर्ने जस्ता मानवीय गतिविधिले हात्तीलाई झन् उत्तेजित बनाउने उहाँको भनाइ छ । यस्ता मानवीय गतिविधिले हात्ती डराउँदैनन्, उल्टै इगो राख्छन् र ढिलो–चाँडो त्यस्तो गतिविधि गर्नेलाई आक्रमण गर्छन्,– उहाँले भन्नुभयो ।

मानिसले प्रयोग गरेका हात्ती रोक्ने उपायहरूलाई हात्तीले सूक्ष्म रूपमा अध्ययन गरिसकेको पनि गौतमले बताउनुभयो । काँडेतार, खाल्डो खन्ने, ग्यास पड्काउने, पर्खाल लगाउनेजस्ता उपाय प्रभावकारी नभएको अनुभव छ । सुरुमा ग्यास पड्काउँदा,ड्रोन र हेलिकप्टर उडाउँदा हात्ती तर्सिए पनि केही वर्षपछि ग्यास पड्किँदा आँखा चिम्लिदिने र ड्रोन , हेलिकप्टर उडाउँदा बेवास्ता गर्ने गरेको अध्ययनबाट थाहा भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले हात्ती रोक्न सोलार तारबार सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो । दाह्रामा करेन्ट नलाग्ने भएकाले साधारण विद्युत छेकवारसमेत हात्तीले भत्काउने गरेको उहाँको भनाइ छ ।
हात्तीमा अत्यधिक धैर्य गर्ने क्षमता हुने र समूहलाई प्रायः हजुरआमाले नेतृत्व गर्ने गरेको जानकारी दिँदै उहाँले हात्तीले खाएरभन्दा हिँडेर बढी क्षति गर्ने स्पष्ट पार्नुभयो । साथै, आफ्नो सन्तान मरेको स्थानलाई हात्तीले अत्यन्त महत्व दिने भएकाले हात्तीले मानिस मारेको स्थान र सन्तान मारिएको ठाउँमा हरेक वर्ष आउने गरेको उहाँले बताउनुभयो । हात्तीको समूहभित्र प्रत्येक सदस्यको भूमिका फरक–फरक हुने पनि उहाँको भनाइ छ ।
मान्छे–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जङ्गलमा हात्तीका प्रिय खानेकुराको वृक्षारोपण ,तालहरू निर्माण गर्नु पर्नेमा उहाँले जोडदिनुुभयो । मानिसको जङ्गलसँगको निर्भरता बढ्दै गएकोले जोखिम अझ बढ्न सक्ने उहाँको भनाई थियो ।
बेलबारी चिसाङ साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीले मानव हात्ती बिच बढेको द्वन्द्व न्युनीकरण गर्ने उदेश्यले विद्यार्थीहरूका लागि सहजीकरण गरिएको बताउनुभयो । बेलबारी उद्योग बाणिज्य सङ्घले महोत्सवका अवसरमा हरेक दिन दिउँसो वातावरण, उद्योग, कृषि, शिक्षा, प्रविधि र साहित्यका विषयमा विज्ञ बोलाएर विद्यार्थीसँग छलफल गरिरहेको सङ्घका महासचिव विवेक मिश्रले बताउनुु भयो ।



Share via
Send this to a friend