हरिप्रसाद कोइराला
रङ्गेली । राज्यपुनर्संरचना पछि फोहोरमैला ब्यवस्थापनमा ठूलो चुनौति खेपिरहेका मोरङका चार वटा पालिकाले फोहोर मैला ब्यवस्थापन गर्न एकीकृत कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
यसअघि एकीकृत विपद् ब्यवस्थापन केन्द्रको अवधारणा सुरु गरेका मोरङका रङ्गेली , सुनवर्षी नगरपालिका र कानेपोखरी , धनपालथान गाउँपालिकाले संयुक्त खर्चमा एकीकृत फोहोरमैला ब्यवस्थापन केन्द्र सञ्चालन सुरु गर्ने भएका हुन् । फोहोर मैला केन्द्रको ठेक्का लगाउनु पूर्व चारपालिकाको टोली भारतको गुजरातस्थित अहमदावादको फोहोरमैला ब्यवस्थापन केन्द्रको अवलोकन गर्न भारत गएको थियाे । टोलीमा रङ्गेलीका तत्कालिन र सुनवर्षीका नगरप्रमुख र कानेपोखरीका अध्यक्ष रहनु भएकाे थियाे । यस्तै चारै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र रङ्गेली नगरपालिकाका उप प्रमुख टोलीमा हुनुहुन्थ्याे।
फोहोरमैला ब्यवस्थापन गर्न रङ्गेली नगरपालिकाले एक बिघा जग्गा निशुल्क उपलब्ध गराइसकेको छ । रङ्गेलीले जग्गा उपलब्ध गराए लगत्तै चारै पालिका बिच संयुक्त लगानीमा फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माणको सहमति जुटेको कानेपोखरी गाउपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । मोरङ जिल्लामा रहेका १७ वटै स्थानीय सरकारले हालसम्म आधुनिक डम्पिङ साइड निर्माण गर्न सकेका छैनन् । कानेपोखरी गाउँपालिकाले स्थानीय ग्रामीण सुधार सामुदादिक वनले संरक्षण गरेको जङ्गल क्षेत्रमा फोहोर डम्पिङ गर्दै आएको छ भने अरु पालिकाले खोला किनारमा फोहोर फाल्दै आएका छन् । कानेपोखरी गाउँपालिकाले फोहोर फालेको स्थानमा चरनमा गएका १३ वटा बाख्रा मरेपछि स्थानीयले उक्त स्थानमा फोहोर फाल्न निषेध गरेका छन् । स्थानीयले जङ्गलमा फोहोर फाल्न रोकेपछि कानेपोखरी गाउँपालिकाको फोहोर नउठेको नगर प्रहरी प्रमुख युवराज भुजेलले बताउनु भयो । उहाँका अनुसार कात्तिक २५ गते १३ वटा बाख्रा मरेपछि स्थानीयले जङ्गलको फोहोर खाल्डोमा हालेर पुरेका छन् । डम्पिङ साइट प्रवेश गर्ने स्थानमा तारजालि लगाएर घेरावार गरिएको भुजेलले बताउनु भयो ।
एकीकृत फोहोर मैला ब्यवस्थापनको संयुक्त कार्यक्रमलाई कोशी प्रदेश सरकारले ५ करोड,स्वीस सरकारले २ करोड र ह्याविटाटले एक करोड रुपियाँको स्रोत सुनिश्चित गरेको कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । उहाँका अनुसार आठ करोड रुपियाँको स्रोत सुनिश्चित भयो । १३ करोडको यो कार्यक्रमका लागि चार पालिकाले उपभोग र प्रयोगका आधारमा लागत सहभागिता जनाउने सहमति भएको छ । हाल चार वटै पालिकामा फोहोर मैला उत्पादनको अवस्था,मुख्य बजारबाट निस्किने फोहोरको परिणाम, उपभोक्ता सदस्यको लगत लिने काम भइरहेको अध्यक्ष इङ्नामले जानकारी दिनुभयो ।
धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले रङ्गेली नगरपालिकाले जग्गा निशुल्क उपलब्ध गराएपछि पालिका यो कार्यक्रममा सहभागि भएको बताउनु भयो । खोला किनारमा फोहोर फाल्दा हुने स्वास्थ्य चुनौति र समस्याको स्थायी समाधानका लागि संयुक्त कार्यक्रम ल्याइएको अध्यक्ष गच्छदारको भनाई छ । उहाँले भन्नुभयो – एउटै पालिकाले ठूलो खर्च गर्न सक्ने अवस्था छैन् । हाल यो कार्यक्रमका लागि आठ करोडको स्रोत सुनिश्चित भइसकेको छ । डिपीआर भन्दा थोरै घटेर ठेक्का लाग्छ । जतिमा ठेक्का लाग्छ । बाँकी रकम उपभोगका आधारमा भुक्तानी हुने सहमति भएको छ ।
यसअघि यिनै चार पालिकाले एकीकृत विपद ब्यवस्थापन कार्यक्रम अन्तरगत एकीकृत विपद ब्यवस्थापन केन्द्र निर्माण गरिरहेका छन् । विपद सम्बन्धी सम्पूर्ण काम एउटै ठाउँबाट गर्न रङ्गेली नगरपालिकाको वडा नं. ८ दर्वेशामा एकीकृत विपद् ब्यवस्थापन गृह निर्माणधीन अवस्थामा छ ।

























