कानेपोखरी, २७ असोज । प्रतिनिधिसभा सदस्य डाक्टर सुनीलकुमार शर्माले संघीय सरकार एमालेसँगको गठबन्धनमा निर्माण हुने दाबी गर्नु भएको छ । शनिबार मोरङको कानेपोखरी–६ स्थित रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो साधारणसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सांसद शर्माले कोशी प्रदेशबाट माओवादी केन्द्रसँगको गठबन्धन तोडिएको बताउँदै कांग्रेस र एमाले मिलेर मात्र देशलाई निकास दिन सक्ने उल्लेख गर्नुभयो । सहकारीको कार्यक्रममा राजनीतिक विषय नबोल्ने बताउँदै उहाँले भन्नुभयो– सांसंद भनेको भेडाबाख्रा जस्तै मात्र रहेछन् । संसद हरेक दलका एकाध नेताले कमाउने र खाने ठाउँ रहेको चर्चा गर्दै उहाँले भुईमान्छेका पक्षमा बोल्नेलाई अंकुश लगाइने गरेको बताउनु भयो ।
कोशी प्रदेशका सांसद गीता तिम्सिनाले १० महिनामा कोशी प्रदेशले सरकार बनाउने र ढाल्ने काम मात्रै गरेको बताउनु भयो । तिम्सिनाले भननुभयो – जनताका पक्षमा धेरै काम गर्न सकिएला भन्ने लागेको थियो । तर, संसद त्यति सजिलो ठाउँ रहेनछ । उहाँले दक्ष युवाशक्ति उत्पादन भएपनि अग्रजहरूले बाटो छेकिरहँदा काम गर्ने क्षमतावानहरू किनार लाग्दै गएको उल्लेख गर्नुभयो । नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समूदायमा आधारित सहकारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो । ढकालले सहकारीको बोर्ड राखेर अरु नै धन्धा गर्ने संस्थाहरू समस्याग्रस्त भएको बताउँदै सदस्यसँग सिधा जोडिएका सहकारी कहिल्यै सङ्कटमा नपर्ने उल्लेख गर्नुभयो । सरकारसँग नेफ्स्कुनले कर्जा सुचना केन्द्र गठन र छुट्टै बचत तथा ऋण ऐन निर्माणका लागि पहल गरिरहेको बताउँदै उहाँले ठूला शहरका सहकारी हेरेर नीति निर्माण गर्ने सरकारी निकायले गाउँमा सहकारीले पु¥याएको योगदानको मूल्याङ्कन गर्न नसकेको बताउनु भयो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले सहकारीहरू कृषि उत्पादन मा जोडिनु पर्ने बताउनु भयो । पूँजी बिस्तारले मात्र सहकारी बलियो नहुँने बताउँदै उहाँले सदस्यलाई स्वरोजगार बनाउने र ऋण सदुपयाेगिता अनुगमन गर्नुपर्नेमा जाेड दिनुभयो ।
कानेपोखरी गाउँपालिका पूर्व अध्यक्ष एवम् नेफ्स्कुनका पूर्व सञ्चालक ताराबहादुर काफ्लेले समूदायमा आधारित सहकारी संस्थाहरू सदस्यको पैसा लिएर नभाग्ने बताउनु भयो । उहाँले भन्नुभयो –अब संस्था एकीकरणका लागि सरकारले दबाव पूर्ण कार्यक्रम ल्याउनु पर्छ । काफ्लेले स्थिरिकरण कोषमा प्रारम्भिक सहकारीले ५ प्रतिशत रकम जम्मा गर्न नसक्ने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष त्रिभुनाथ फुयलको सभापतित्वमा भएको एकीकरण पछिको दोस्रो साधारणसभामा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी,सहकारी अभियन्ता राजकुमार बराल र कृष्णमाया विष्टले शुभकामना दिनु भएको थियो ।
साधारणसभामा अध्यक्ष त्रिभुनाथ फुयलले गत वर्षको प्रगती प्रतिवेदन र चालु वर्षका लागि प्रस्ताव गरिएको कार्यक्रम प्रस्तुत गर्नुभयो ।यस्तै संस्थाका कोषाध्यक्ष फर्शुराम खतिवडाले गत वर्षको यथार्थ खर्च र र चालु वर्ष प्रस्तावित आय ब्यय प्रस्तुत गर्नुभयो । लेखा तथा सुपरिवेक्षण समितिका सदस्य केशव भण्डारीले सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाको उपाध्यक्ष सुनीलदत्त अधिकारीले स्वागत गर्नु भएको थियो ।
कानेपोखरी –६ को जनसेवा माविको खेल मैदानमा भएको साधारणसभा संस्थाका सचिव राजेश कार्कीले सञ्चालन गर्नु भएको थियो । साधारणसभाकै अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गर्नुभयो ।
सहकारी अभियन्ता सम्मान बराललाई
रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको सहकारी अभियन्ता सम्मान नेफ्स्कुनका पूर्व लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजकुमार बराललाई प्रदान गरेको छ । संस्थाको दोस्रो साधारणसभाका अवसरमा शनिवार आयोजित कार्यक्रममा बराललाई सम्मान गरिएको हो ।
मोरङ–३ का प्रतिनिधिसभा सदस्य डाक्टर सुनीलकुमार शर्माले बराललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । तत्कालिन रमाइलो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बरालले जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङमा समेत लामो समय लेखा तथा सुपरिवेक्षण समितिमा रहेर काम गर्नु भएको थियो ।
उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यलाई पुरस्कार
संस्थाले शनिवार नै विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्यलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । पूर्व सञ्चालक सम्मानबाट संस्थाका पूर्व उपाध्यक्ष गोपाल खड्का सम्मानित हुनभयो । कर्मचारी तर्फको पुरस्कार संस्थाका ब्यवस्थापक कृष्णकुमारी अधिकारीलाई प्रदान गरिएको छ । यसैगरी उत्कृष्ठ आर्थिक कारोवार तर्फ उमा खरेल,गोमामाया मगर,भक्तबहादुर धिमाल,अशोक राई ,खडानन्द घिमिरे,सुजना राई पुरस्कृत हुनुभयो ।
यस्तै बाल बचत तर्फ अनुस्का झ्यालीमगर र प्रवीण चौधरी पुरस्कृत हुनुभयो । चुडामणि दाहाल र नरवदा घिमिरेले ज्येष्ठ सदस्य सम्मान प्राप्त गर्नुभयो । उत्कृष्ठ एसईर्ए पुस्कारबाट प्रकृति रिमाल र जीवन फुयल पुरस्कृत हुनु भयो । कक्षा १२ तर्फको छात्रवृति सोमनाथ दाहालले प्राप्त गर्नुभयो ।
संस्थाको शुद्ध बचत ३ करोड २१ लाख ४७ हजार
जिल्ला कै सबैभन्दा बढी शेयर सदस्य र सबैभन्दा पुँजी भएको रमाइलो जनएकता साकोसले आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २१ लाख ४७ हजार ५४ रुपियाँ शुद्ध बचत गरेको छ ।
९ हजार ४९३ जना शेयर सदस्य रहेको संस्थामा ११ करोड ३ लाख ६१ हजार ७ सय रुपियाँ शेयर पुँजी रहेको छ । ६७ करोड २२ लाख ८७ हजार ५५२ रुपियाँ बचत निक्षेप रहेको सहकारी संस्थाको कोष हिसावमा ११ करोड ४१ लाख ८९ हजार ९९७ रुपियाँ रहेको छ । यस्तै जगेडा कोषमा ८ करोड ८८ लाख २१ हजार ५५२ रुपियाँ रहेको सहकारी संस्थाले ७३ करोड ३९ लाख ६३ हजार ४५४ रुपियाँ ऋण लगानी गरेको छ ।






