हरिप्रसाद कोइराला
मोरङ । पछिल्लो तीन साता यता झापा, मोरङ र सुनसरीमा देखिएको वर्डफ्लु संक्रमणबाट किसानलाई हालसम्म कै ठूलो क्षति भएको छ ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्राल पशुपंक्षी महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. दिपा दिवालीका अनुसार हालसम्म मोरङमा छ,सुनसरीमा आठ र झापामा दुई फर्ममा वर्डफ्लु संक्रमण देखिएको छ । सुनसरीमा आठ वटा कृषि फर्ममा बर्डफ्लु पुष्टि भएको छ । तर बुधबारसम्ममा १२ वटा फर्मका कुखुरा, अण्डा,दाना, स्थानीय कुखुरा, हाँस र खाली क्यारेट नष्ट गरिएको छ । वर्डफ्लुुको संक्रमण देखा परेका सुनसरीका तीन र झापाको एउटा गरी चार वटा फर्ममा बिहीबार साँझसम्म कुखुरा नष्ट गरिएको छ ।
डाक्टर दिवालीले दिनुभएको जानकारी अनुसार बुधबार साँझसम्म ५५० वटा ब्रोइलर कुखुरा,५९ हजार ६६७ वटा लेयर्स कुखुरा, ७ हजार ३०० वटा प्यारेन्ट कुखुरा ,७२६वटा स्थानीय जातका कुखुरा,सात वटा हाँस, एक लाख २२ हजार ४८० वटा अण्डा नष्ट गरिएको छ । यस्तै २४ हजार २३८ केजी चारो(दाना) र ७ हजार ७५० थान खाली क्यारेट (अण्डा हाल्ने बट्टा) नष्ट गरिएको छ । उहाँले थप क्षति हुन नदिन नियन्त्रणका उपायहरू अपनाइएको बताउनुभयो । संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको छ । यस्तै पक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ। अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट संक्रमण फैलिएको हुनसक्ने भएकोले त्यस्ता सवारीसाधन सञ्चालन नगर्न आह्वान गरिएको छ ।
डाक्टर दिवालीले पछिल्लो २÷३ वर्षयताकै सबैभन्दा ठूलो संक्रमण यस वर्ष देखिएको बताउनुभयो । प्रारम्भमा लो प्याथोजेनिक रहेको संक्रमण हाल हाई प्याथोजेनिक बर्डफ्लुमा रूपान्तरण भएको छ। संक्रमण नियन्त्रणका लागि ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरिएको भए पनि रोग फैलावट रोक्न चुनौतीपूर्ण बनेको छ। अवैध रूपमा कुखुरा ओसारपसार गर्नु संक्रमण फैलिनुको प्रमुख कारण रहेको जनाइएको छ। प्रशासनले भेटेरिनरी प्रमाणपत्रबिना कुखुरा ढुवानी नगर्न आग्रह गरेको छ।
किसानलाई फार्ममा जैविक सुरक्षा कडाइका साथ अपनाउन, बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा शंकास्पद लक्षण देखिएमा तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।
झापा खटिनुभएका मन्त्रालयको पशुपंक्षी महाशाखाका पशु चिकित्सक एवं सूचना अधिकारी डा. देवकुमार दर्लामीका अनुसार झापाको दमक १० का दुई वटा फर्ममा वर्डफ्लु पुष्टि भएको छ । उहाँले एउटा फर्ममा १३ हजार लेयर्स कुखुरा नष्ट गरिसकिएको र अर्को फर्ममा बिहीबार मन्त्रालयको प्राविधिक टोली घटनास्थलमा पुुगेर एक हजार पाँच सय लेयर्स कुखुरा र ३७ हजार ८ सय अण्डा नष्ट गरिएको बताउनु भयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.मनोजकुमार मेहताका अनुसार बिहीबार सुनसरीका तीन वटा फर्मबाट ४८५ वटा ब्रोइलर कुखुरा,३ हजार ७३० वटा लेयर्स कुखुरा,४२सय थान अण्डा,६० हजार थान ह्याचिङको लागि तयारी गरिएका अण्डा र ३७ सय चल्ला नष्ट गरिएको छ ।
मोरङको सुन्दरहरँैंचा र उर्लाबारीबाट सुरु भएको संक्रमण झापाको दमक हुँदै सुनसरीको इटहरीसम्म फैलिएको छ।
बर्डफ्लुको प्रभावले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको छ। उत्पादन बिक्री हुने समयमा संक्रमण देखिएपछि किसानहरू गम्भीर मारमा परेका छन्। यसअघि नेपालमा पहिलो पटक २०६५ माघमा झापाको काँकडभिट्टाबाट बर्डफ्लु देखिएको थियो। त्यसयता छिटफुट रूपमा देखिँदै आएको संक्रमण यसवर्ष भने व्यापक रूपमा फैलिएको छ।
संक्रमणबाट प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने व्यवस्था भए पनि प्रक्रिया ढिलो हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । डा.दिवालीका अनुसार नष्ट गरिएका कुखुरा तथा सामग्रीको मूल्याङ्कन जिल्ला दररेट निर्धारण समितिले गर्नेछ र सोही आधारमा सङ्घीय सरकारले राहत उपलब्ध गराउनेछ।
उता ,लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होमनाथ बास्कोटाले मोरङका छ,सुनसरीका आठ र झापाका दुई वटा फर्ममा वर्डफ्लु संक्रमण देखिदा एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको बताउनु भयो । उहाँका अनुसार सुनसरी र मोरङमा हालसम्म दुई लाख १४ हजार कुखुरा र १५ सय बोरा दाना नष्ट गरिएको छ ।उहाँका अनुसार सरकारले वर्डफ्लुुु पुष्टि भएकाको विवरण मात्र राखेको छ । हामी कहाँ यो पटक ‘एचफाइप एनवान’ बाट भन्दा ‘एचनाइन’का कारण बढी कुखुुरा मरेको ब्यावसायी द्रोण घिमिरेको भनाई छ । घिमिरेले भन्नुुभयो– एच नाइन लाई सरकारले रोग मान्दैन । र क्षतिपुर्ति दिँदैन । तर, यो पटक एच नाइनले खोर रित्तिएको छ । सरकारसँग एचनाइनबाट मरेका कुखुरकाको तथ्याङ्क नै छैन ।
कोशी प्रदेशमा नै संक्रमण परीक्षण गर्ने ल्याव नहुँदा ठूलो क्षति ब्योहोर्नु परेको अध्यक्ष बास्कोटाको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकारले ब्यावसाय गर्न प्रोत्साहन गरेर मात्र भएन । संक्रमण परीक्षणका लागि ठाउँ ठाउँमा ल्यावको ब्यवस्थापन गर्नुप¥यो । कुखुरा मरेकै दिन परीक्षण गर्न पठायो । रिपोर्ट सात दिन पछि मात्र आउँछ । रिपोर्ट आउँदासम्म खोर रित्तिसकेको हुन्छ । सरकारले ‘एचफाइपएनवान’भाइरस पुष्टि भएर मरेकालाई मात्र क्षतिपुर्ति दिने ब्यवस्था गरेको छ । तर, कुखुराहरू ‘एचनाइन’का कारण बढी मरेका छन् । बास्कोटाले ‘एचनाइन’लाई रानीखेत भनेर पुष्टि पनि नगरिएको र मरेका कुखुराको क्षतिपुर्ति पनि नदिँदा किसान मारमा परेको बताउनु भयो ।
कुखुराको मासु र अण्डामा आत्मनिर्भर भइरहेको नेपालमा पोल्ट्री ब्यावासायमा ३३ अर्ब लगानी भएको छ । अध्यक्ष बास्कोटाले पोल्ट्री ब्यावासायले ७० हजार रोजगार सिर्जना गरेको जीडिपीमा शुन्य दशमलव ३ प्रतिशत योगदान पु¥याएको बताउनु भयो ।






