Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
उर्लाबारी । नेपालमा उत्पादित धान मात्र प्रयोग गरेर दैनिक ८० टन चामल उत्पादन गरिरहेको मोरङको बेलबारी–९पोखरियास्थित आरजु राईस मिलले बेलबारी,रङ्गेली,सुन्दरहरैँचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका किसानलाई प्रत्यक्ष रुपमा जोडेको छ ।
नेपालमा उत्पादित धान अभावका कारण वार्षिक कुल क्षमताको ७५ प्रतिशत मात्र चामल उत्पादन गरिरहेको उद्योगलाई वार्षिक २० हजार टन धानको आवश्यक पर्छ । उद्योगका महाप्रबन्धक डा.विवेकानन्द झाले भन्नुभयो– हाल वर्षभरि चामल मिल चलाउन सकेका छैनौं । यसको मुख्य कारण धान अभाव नै हो । ३६५ दिन नै चामल उत्पादन उद्योगले किसानलाई प्रत्यक्ष रुपमा जोडेको छ । महाप्रवन्धक झाले पाँच हजार विघामा धान लगाउने योजना अनुसार दुई÷दुई सय किसानको छ वटा समूह गठन गरेको जानकारी दिनुभयो । सबै समूहलाई जोत्ने, बालि भित्त्राउने प्रविधिमा उद्योगले सहजीकरण गरिरहेको छ । धान काट्ने ५ वटा कम्पाएन मेसिन किसानलाई हस्तान्तरण गरिसकेको उहाँले बताउनु भयो ।
खासगरी थोरै क्षेत्रफलमा बढी उत्पादन हुने चैते धान (हर्दिनाथ–६) प्रबद्र्धन गर्न उद्योगले किसानलाई प्रत्यक्ष सहयोग गरिरहेको छ । हर्दिनाथ धान जिरा मसिनो प्रजातिमा पर्छ । अहिले बजारमा जिरा मसिनो, वासमति र लङ्ग्रेनको माग धेरै छ । किसानले उद्योगको माग अनुसार धान उत्पादन गर्नु हुन्न । त्यसैले उद्योगको माग अनुसारको हिउँदे र चैते धान उत्पादन गर्न उद्योगले किसानलाई सहयोग गरेको हो । किसानले हिउँदमा मन्सुली लगायत बजारमा कम माग हुने धान उत्पादन गर्छन् । चैते धानको अवस्था पनि त्यस्तै छ । चिउरा, भुजाको लागि मात्र चैते धानको खपत हुने अवस्था छ । हामीले हर्दिनाथ ६ धान लगाउन किसानलाई तालिम र यान्त्रिकरणमा सहयोग गरिरहेका छौं । आगामी वर्ष देखि २० हजार टन धान भण्डारण गरी बर्षभरि उद्योग सञ्चालन गर्ने गरी किसानसँग जोडिएको उहाँले जानकारी दिनुभयो । महाप्रबन्धक झाले भन्नुभयो – ‘ढुवानीमा कम लागत होस भनेर हामी बेलबारी,रङ्गेली,सुन्दरहरैँचा र कानेपोखरीका किसानसँग जोडिएका हौं । उद्योग वरिपरिका किसानले हाम्रो माग अनुसार धान उत्पादन गरिदिने हुनु भएको छ । ढुवानी खर्च कम हुँदा सस्तो मूल्यमा चामल बिक्री गर्न सकिनेछ ।
किसानलाई आवश्यक पर्ने हर्दिनाथ ६ धानको गुणस्तरीय बिउ,बैंकसँग कर्जा लिन र बाली बीमाका लागि सहजीकरण गर्ने ,काट्ने प्रविधिमा सहयोग र ढुवानीका लागि ट्याक्टरको ब्यवस्थामा उद्योगले सहजीकरण गरिरहेको छ । अब जोडिने थप किसानलाई पनि यि सबै सुविधा उपलब्ध हुनेछन् ।
उद्योगले झापाका किसानसँग सहकार्य गरी ३ सय विघामा धान उत्पादन गरिरहेको छ । झापामा नै उद्योग स्थापना गर्ने उदेश्यले कन्काई सिंचाई आयोजनासँग आवद्ध किसानलाई धान उत्पादनमा जोडेको महाप्रवन्धक झाले जानकारी दिनुभयो । उहाँले पूर्ण रुपमा उद्योगको आवश्यकता अनुसार धान उत्पादन भए किसानलाई उद्योगमा शेयर लगानी गर्न दिने समेत आब्हान गर्ने महाप्रवन्धक झाको भनाई छ ।
उद्योग वरिपरि चैते धान २ हजार विघामा र हिउँदे ५ हजार बिघामा खेती हुन्छ ।तर,उत्पादनको २५ प्रतिशत किसानले आफ्नै उपभोगका लागि राख्छन् । किसानले बिक्री गर्ने सबै धान गुणस्तरीय हुँदैन् । गुणस्तरीय र बजारमा माग भएको चामल उत्पादन हुने धान फलाउन हाम्रो जोड हो । चैते धानको उत्पादन राम्रो भएपनि त्यो उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा खासै योगदान गरेको छैन् । भुजा, चिउरा, दानामा बढी प्रयोग भएको छ । खाद्यान्नको रुपमा प्रयोग हुने धान उत्पादन गर्न सकियो भने चामल आयातलाई प्रतिस्थापन गर्न सकिने उहाँको भनाई छ ।
यता किसानहरू पनि उद्योगको सहयोग प्रति खुसी छन् । उद्योगसँगको सहकार्यमा धान उत्पादन गरिरहनु भएका कानेपोखरी –३ का किसान दिब्यराज खतिवडाले ६ वर्ष यता निरन्तर आरजु राइस मिलसँग जोडिएको बताउनु भयो । हाल १५० बिगाहामा हर्दिनाथ ६ धान लगाएको बताउँदै उहाँले धान लगाउँदै अग्रिम समर्थन मूल्य प्रतिमन एकहजार तोकिएको जानकारी दिनुभयो । बजार अरु धानको मूल्य बढ्यो भने हामे उत्पादनको मुल्य पनि बढ्छ । घट्यो भने हाम्रो उत्पादनको मूल्य घट्दैन । उहाँले हिउँद रोप्ने पुसा बासमति धान रोप्ने किसान पनि क्रमश बढ्दै गएको बताउनु भयो । उद्योगले सबै खाले प्रँविधिक र यात्रिक सहयोग गरिरहेकोले किसान उत्साहित रहेको बताउनु भयो ।
५५ करोड रुपियाँ लगानी भइसकेको उद्योगमा हाल ८५ जनाले रोजगार पाएका छन् । जसमध्ये ४५ जना कर्मचारी छन् भने ४० जना महिला मजदुर छन् ।



Share via
Send this to a friend